पोखरा(खेलाडी न्युज)-हेमजाको गौरीशंकर खेलमैदानलाई एक वर्ष अघि १० लाख रुपैयाँ छुट्टाइएको थियो । बजेट सुनिश्चितताको थियो । काम सके पछि मात्रै भुक्तानी हुने गरी विनियोजन गरिएको बजेट हुदाँ काम नगरी फिर्ता हुन पुग्यो । स्थानीयले दश लाख रुपैयाँ बराबरको काम गर्न नसक्दा रकम फ्रिज हुदैं फर्किएको हो । त्यही मैदानलाई फेरी राष्ट्रिय खेलकुद परिषदले ५० लाख दिएको छ ।

परिषदले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट पोखरा महानगरपालिका २५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नतिको काम शुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले शिलान्यास गरे । शिलान्यास गर्दै उनले फुटबलको विकासमा हेमजाले पुर्याएको योगदानको कदर गर्दै मैदानको स्तरोन्नतिले अझ स्तरीय प्रतियोगिताबाट नयाँ खेलाडी निकाल्नेमा ढुक्क भएको विश्वास व्यक्त गरे ।

हेमजा युनाईटेड क्लबको सक्रियतामा वर्षेनी गौरी शंकर खेल मैदानमा नव वर्षको अवसरमा शुभकामना फुटबल प्रतियोगिता गर्दै आएको छ । मैदान केही साँघुरो भएकोले स्तरोन्नति गर्दै स्तरीय प्रतियोगिता गर्ने उद्देश्यसहित परिषदले एक निर्वाचन क्षेत्र एक खेल मैदानको अवधारणालाई मूर्त रुप दिन बजेट छुट्टाएको हो । मैदानको वरिपरी नाली निर्माण गरी स्तारोन्नति गर्ने योजना समितिको छ । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले यो आर्थिक वर्षमा काम टुग्याएर अर्को आर्थिक वर्षमा फेरी बजेट थप्ने गरी काम स्तरीय गर्नुपर्नेमा जोड दिए ।

मैदानको स्तरोन्नति गर्न हेमजा गौरीशंकर खेल मैदान निर्माण समिति गठन गरी जिम्मेवारी दिईएको छ । पहिलो चरणमा १६ लाख रुपैयाँ समितिलाई उपलब्ध गराईएको छ । ‘मैदानलाई सम्याई लेभलिङ गर्ने छौं ।’ समितिका अध्यक्ष कृष्ण कुँवरले भने–‘मैदान वरिपरी नाली समेत निर्माण गर्ने लक्ष्य छ ।’ मैदान स्तरोन्नतिपछि ६८ मिटरको चौडाई र १०५ मिटरको लम्बाई बनाउनुपर्ने खाँचो छ । मैदान हाल ६४ मिटर चौडाई र १०२ मिटर लम्बाईको छ । उत्तर र दक्षिणको हेर्दा समथर देखिएपछि साढे ७ फिट फरक छ । समितिका अध्यक्ष कुँवरले दुई महिना भित्रमा सक्ने गरी काम गरिने बताए ।

क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक प्रनिस ताम्राकारका अनुसार मैदानको पहिलो चरणमा लेभलिङ गर्नुपर्ने खाँचो छ । ‘उत्तरबाट दक्षिण तर्फ हेदाँ सम्मो देखिन्छ तर नाप्दा साढे सात फिट डाउन छ ।’ प्राविधिक ताम्राकारले भने–‘साढे सात फिट पुर्नुपर्छ । त्यसको लागि उत्तर तर्फको माटो खारेर तल ल्याउनुपर्छ ।’ मैदानलाई अझ फराकिलो बनाउन मैदानको दक्षिण क्षेत्र र पुर्व तर्फको भागमा रहेको भौतिक पुर्वाधार भत्काउनुपर्ने खाँचो छ । समितिका अध्यक्ष कुँवरका अनुसार मैदानको लागि आवश्यक पर्ने जग्गाको लागि घरवालासँग छलफल गरिसकिएको छ । मैदानलाई परिषदले दुई वर्ष अघि उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटबाट तारजाली लगाउने काम गरिएको थियो ।

परिषदले यो आर्थिक वर्षको लागि गौरीशंकर खेल मैदानसँगै लामाचौर खेल मैदान गोस्तेलाई समेत ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । लामाचौरमा भने फुटबल मैदान निर्माण गरिसकिएको छ । छुट्टाएको बजेटले प्यारापिट निर्माण गरिएको छ । दुई तर्फ प्यारापिट निर्माण गरिएको छ भने अर्को तर्फ सेभेन ए साईड फुटबल मैदान र बास्केटबल कोर्ट निर्माण समेत निर्माण गर्ने लक्ष्य स्थानीय निर्माण समितिले लिएको छ । तस्बिर धन बस्नेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here