पोखरा(खेलाडी न्युज)-एकसाता अघि मात्रै इण्डोनेसिया पुगेको प्याराग्लाइडिङ टोलीले भोलि (आईतबार) ऐतिहासिक स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दै छ । नेपाली प्याराग्लाइडिङ टोलीले ६ स्वर्णको लागि टिम र व्यक्तिगत प्रतिस्पर्धा गर्दै छन् । प्याराग्लाइडिङमा नेपालले ऐतिहासिक पदकको आशा गरेको छ ।

नेपाली टिमको नेतृत्व(कप्तान) विमल अधिकारीले गरेका छन् । उनीसँगै विशाल थापा, युकेश गुरुङ, विजय गौतम, शुशिल गुरुङ पुरुष तर्फ प्रतिस्पर्धा उत्रिदैै छन् । महिला तर्फ भने त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलसँगै गोरखाकी सविता तामाङ छिन् । उनी बाहेक सबै खेलाडी कास्कीकै हुन् । कप्तान अधिकारी एक्ला प्याराग्लाइडिङ पाईलट हुन जसले सन २०१५ मा कोलम्बियामा आयोजित प्याराग्लाईडिङ वल्र्ड च्याम्पियनसिप सहभागि। भएका एकमात्र नेपाली पाईलट हुन् । ‘प्याराग्लाईडिङ गरेको १५ वर्ष वित्यो ।’ कप्तान अधिकारीले भने–‘इण्डोनेसियामै टिम इभेण्टमा स्वर्ण पदक जितेका थियौं । अहिले पनि त्यही उपाधि रक्षा गर्ने लक्ष्य टिमको छ ।’

उनकै टोलीका सदस्य विशाल थापा भने सबैभन्दा कम उमेरका प्याराग्लाईडिङ पाईलट हुन् । उनी भर्खर १६ वर्ष मात्रै पुगेका छन् । एसईई परीक्षा सकेर बसेका थापाले उडान शुरु गरेको पनि ३ वर्ष मात्रै भयो । यद्यपी उनी एशियन कप प्याराग्लाईडिङ च्याम्पियनसिपमा दोस्रो बनेका थिए । चीनमा आयोजित फ्रि प्याराग्लाईडिङ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका थिए ।

नेपाली टिमले टिम एक्युरेसी, टिम क्रस कन्ट्री महिला तथा पुरुष इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला टिम एक्युरेसीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन्द्र रावतले जानकारी दिए । उनका अनुसार टिम इभेण्टमा पदकको आशा गरिएको छ ।

यसैगरी एकल प्रतिस्पर्धा अन्तर्गत एक्युरेसी तर्फ पुरुषमा विजय गौतम र शुशिल गुरुङ छन् । भने महिला तर्फको सोही प्रतिस्पर्धामा त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले उडान भर्ने छन् । १४५० मिटर उचाईको नारी गुलहिलको उचाईबाट टेक अफ गरी १ हजार मिटरको गुनुङमासमा ल्याण्डिङ गर्ने छन् । टेक अफ र ल्याण्डिङको दुरी ४ सय ५० मिटरको दुरीको फरक रहेको उनले बताए ।

प्याराग्लाइडिङ हुने पान्के भन्ने ठाँउको हावापानी नेपालको जस्तै रहेको उल्लेख गरे । प्रतियोगितामा नेपालसहित १७ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, अफगानिस्तान, चीन, हङकङ, इरान, जापान, साउदी अरेबिया, थाईल्याण्ड, कोरिया, लाओस, चाईनिज ताइपेइ, मंगोलिया, मेलसिया, कतार, सिंगापुर, पाकिस्तान, र इण्डोनेसियाले प्रतिस्पर्धा गर्ने छन् । भारत र युरोपियन मुलुकले प्रतिस्पर्धा नगर्ने भएपछि प्याराग्लाइडिङमा पदकको आशा गर्न सकिने अर्का अफिसियल सानोबावु सुनुवारले सुनाए । खेलाडीहरुले नियमित प्रशिक्षण गरिहेका छन् । त्यसले पनि हावापानीमा घुलमिल भईसकेका छन् । नेपाली प्याराग्लाइडिङ टिमले दुई वर्ष अघि इण्डोनेसियामै आयोजित प्याराग्लाइडिङ च्याम्पियनसिपमा टिम इभेण्टमा स्वर्ण पदक जितेर फर्किएको थियो । तस्बिर सौजन्य शैलेन्द्र रावत, इण्डोनेसिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here