आजदेखि डिपिएल, काठमाडौंले चौराहासँग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) – घरेलु क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने अभिायनका साथ आजदेखि धनगढी प्रिमियर लिग(डिपिएल) शुरु हुदैै छ । काठमाडौं गोल्डेन्सले धनगढी चौराहसँग उदघाटन खेल खेल्दै डिपिएल शुरु हुने छ ।
भर्खरै नेपालले एकदिवसीय मान्यता पाएको छ । मोसफबाटै क्रिकेटको माहौल सृजना गर्दै सानोस्तरबाट शुरु गरिएको प्रिमियर लिग नेपालकै प्रतिष्ठित क्रिकेट लिगको रुपमा परिणत भएको छ । क्रिकेटमा यो नै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको छ । आईसिसीले समेत यसलाई मान्यता दिएको छ । मान्यताले विदेशी खेलाडीलाई समेत टीममा समावेश गर्न पाउने छन् ।

सर्वाधिक पुरस्कार राशीको डिपिएलमा ६ टिमले उपाधिको लागि एकापसमा भिड्ने छन् । मोष्ट भ्यालुएबल प्लेयरले गोल्डस्टर गोल्डेन सु प्राप्त गर्ने छन् । १५ दिनसम्म चल्ने डीपीएलले फेरि एकपटक घरेलु क्रिकेटको माहोल बन्ने छ ।डीपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।
धनगढीस्थित संघीय प्रहरीको मैदानमा हुने खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । टिम चौराहा गत संस्करणको च्याम्पियन बन्दा उसलाई भाग्य र कप्तानको रणनीतिले निकै साथ दिएको थियो ।

राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहाले फाइनलमा विराटनगर किङसलाई हराउँदै च्याम्पियन बनेको थियो । पोहोर आफैँले हराएको विराटनगरको कप्तान यसपटक पारस छन् । गएको संस्करणमा बिराटनगरको कप्तानी गरेका शरद भेषावकर यो प्रतियोगितामा छैनन् । चौराहाको कप्तानी सोमपाल कामीको काँधमा छ ।

यस्तै, काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ । उद्घाटन खेलमा दुबै टिमका कप्तानले जितका लागि मैदानमा उत्रने बताएका छन् । धनगढीको मौसम र पिचको अवस्था कस्तो हुन्छ त्यो अनुसार खेल अगाडि नै के गर्ने भन्ने निर्णय हुने चौराहाका कप्तान सोमपालले बताए ।

मैदान केही सानो छ । यसपटकको पिच ब्याट्सम्यानलाई साथ दिनेगरी बनाइएको छ । पीच दुई महिना लगाएर तयार पारिएको हो । उद्घाटन खेलमा चौराहाबाट खेलिरहेका युएईका कप्तान रोहन मुस्तफा सबैको नजरमा हुनेछन । अलराउण्डर मुस्तफाबाहेक चौराहामा त्यस्तै धेरै अनुभव भएका खेलाडी कम नै छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्स पनि मिश्रित छ ।

मैदानमा राखिएको अस्थाई प्याराफिट पाँचजना क्रिकेट खेलाडीको सम्मानमा समर्पित गरिएको छ । पूर्व कप्तानहरु विनोद दास, राजु खड्का, अलराउण्डर मेहबुब आलम, पूर्व प्रशिक्षक स्वर्गीय अर्जुन खड्का र कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दिपक विष्टको नाममा स्ट्यान्ड बनाइएको छ ।

शुक्रबार धनगढीमा ठूलो हावाहुरीसहित पानी परेको थियो । केही ठाउँमा असिना पनि परेको थियो । रुपन्देहीमा समेत हिजो असिना पानीले तेस्रो मदनभण्डारी गोल्डकपको पहिलो सेमिफाईनल खेल स्थगित हुन पुगेको थियो । सर्वाधिक पुरस्कार, सुधारिएको मैदान र प्रविधिको प्रयोगसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो घरेलु प्रतियोगिता हो ।