आर्मीका राजनलाई क्रस कन्ट्री दौडको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-स्याङजाको कोल्मामा भएको प्रथम क्रस कन्ट्री राष्ट्रिय दौडको उपाधी नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । शनिबार खुल्ला दौडतर्फको ३१ किलोमिटर दुरी १ घण्टा ५७ मिनेट ५९ सेकेण्डमा पार गर्दै ओखलढुंगाका खत्रीले उपाधी जितेका हुन् । उपाधी जितेका उनले नगद ५० हजार रुपैयासँगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । ३१ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।

स्याङजा भिरकोटका अशोक थापाले २ घण्टा ३ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो र जुम्लाका धिरबहादुर बुढाले २ घण्टा १० मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भए । दुवैले शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमश ः नगद ४० हजार र ३० हजार रुपैयाँ पाएका छन् ।

२१ बर्षमनिको १४ किलोमिटर दुरीको स्पर्धामा पुतलीबजारका कमलप्रसाद श्रेष्ठ १४ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरी पार गरे । श्रेष्ठले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
१ घण्टा १५ मिनेट ५२ मिनेटमा निर्धारित दुरी पार गरेका भिरकोटका गणेश गुरुङ दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । बिरुवाका रुद्रबहादुर भुजेलले १ घण्टा १७ मिनेट २३ सेकेण्डमादौड पुरा गर्दै तेस्रो भए । उनलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी धावकलाई प्रतिनिधी सभा सदस्य नारायणप्रसाद मरासिनीले पुरस्कृत गरे । उनले खेलकुदले पर्यटन प्रर्बद्धनमा महत्वपुर्ण भुमिका निर्वाहा गरेको बताए । खेलकुद र खेलाडीले नेपाललाई विश्वजगतमा पहिचान स्थापित गराएको उनको भनाई छ । राज्यले पनि खेलकुद क्षेत्रलाई सम्मान गर्नुपर्नेमा जोड दिए । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले प्रतियोगिता गरेको हो । स्याङजाको पुतलीबजार, बिरुवा र तनहुँको शुक्लागण्डकी नगरपालिकाका विकासका दृष्टिले पछाडि परेका बस्तीहरूको प्रर्बद्धनमा प्रतियोगिता कोशेढुंगा बन्ने आयोजकको विश्वास छ ।

कोल्माबाट सुरु भएको दौडमा धावकहरू काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी हुदै पुनः कोल्मा पुगेका थिए । स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड भन्ने नाराका साथ आयोजित प्रतियोगितामा राष्ट्रिय तथा स्थानिय धावकको सहभागिता रहेको थियो । तस्बिर सुशान्त गाहामगर