आर्मी गल्फ क्लबका थापालाई वेष्टर्न ओपन गल्फ टुरको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २५ गते २०७४ मा प्रकाशित


Surya Nepal Western Open Champion

पोखरा(खेलाडी न्युज)—डिफेण्डिङ च्याम्पियन शिवराम श्रेष्ठलाई प्ले अफमा एक स्ट्रोकले पछि पार्दै नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापाले सुर्य नेपाल वेष्टर्न गल्फ टुरको उपाधि जितेका छन् । दुईदिनसम्म पछि परेका गल्फर थापाले अन्तिम दिन १ ओभर ७१ स्कोरको कार्ड बनाउँदै उपाधि लगभग पक्का गरिसकेका थिए । तर शिवराम श्रेष्ठले अन्तिम दिन शुक्रबार लेभल पार खेलेपछि दुवै समान २१६ स्कोरसहित टाईमा रहे । निर्णय प्लेअफमा पुग्यो । प्लेअफको प्रतिस्पर्धामा श्रेष्ठले दोस्रो होलमा बोगी खेप्दा थापाले भने पार खेल्दै उपाधि आफनो बनाए । श्रेष्ठ उपविजेतामा चिक्त बुझाउन विवश भए ।

नेपालकै निकै कठिन मानिएको पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरुभएको १८ औं सस्करणको वेष्टर्न ओपन गल्फ टुरको अन्तिम दिनको नजिताले भुवन नगरकोटीलाई तेस्रो स्थानमा ल्याईपुर्यायो । शुक्रबार तीन ओभर ७३ को स्कोरमा रहँदै कुल ९ ओभर २१९ को कार्ड बनाए । शुरुवाती दुईदिन अग्रता लिएका आर्मी गल्फ क्लबका गल्फर जयराम श्रेष्ठ र पोखराका भुबहादुर गुरुङ(भुवन) चौथो स्थानमा टाई खेलेका छन् । जयराम अन्तिम दिन खराब लयमा रहे । उपाधि जित्ने सम्भावना रहिरहँदा एकैदिन १२ बोगी खेपे ।

फ्रन्ट नाईनमा ६ र व्याक नाईनमा पनि ६ ओभर खेले । ३ र १८ औं होलमा उनी डबल बोगी खेपेको कार्डमा लेख्न बाध्य भए । ५,६ र ७ औं तथा १२, १४, १६ औं समेत बोगी खेलेपछि उपाधि होडबाट टाढिईसकेका थिए । ५४ होलको समाप्तीमा श्रेष्ठले १३ ओभर २२३ को कार्ड बनाए । दुईदिनसम्म छ ओभरमा रहदैं अगाडि बढेका गुरुङ अन्तिम दिन ७ ओभर खेलेर १८ होल पुरा गरे । रवि खड्का र भुवन रोक्का पनि १४ ओभर २२४ को स्कोरमा रहँदै टाई भए । खड्काले अन्तिम दिन मात्रै ७ ओभर खेल्दै टुग्याए । पहिलो दिन केवल १ ओभर मात्रै खेलेका उनले दोस्रो दिन ६ ओभर खेलेका थिए । सुर्यप्रसाद शर्मा र दिपक थापा मगर पनि आठौंमा टाई हुन पुगे । दुवैले ५४ होलको समाप्तीमा समान १५ ओभर २२५ को स्कोर बनाए । १७ ओभर २२७ को कार्ड बनाएका रामे मगर भने गल्फ टुरको दशौं स्थानमा रहन पुगे ।

एमेच्योर तर्फ पोखराको अजित विकले उपाधि रक्षा गरे । उनले १४ ओभर २२४ को स्कोर बनाई प्रतियोगिता टुग्याई उपाधि जित्दा सुरेश तामाङ २३३ को स्कोरमा दोस्रो स्थानमा र निरश तामाङ पनि २३३ स्कोरमै तेस्रो स्थानमा चिक्त बुझाए । वेष्टर्न ओपन गल्फ टुरमा गोकर्ण गल्फ काठमाडौं,, त्रिभवन आर्मी गल्फ काठमाडौं, निर्वाणा गल्फ कोर्ष धरान, रोयल नेपाल गल्फकोर्ष काठमाडौं र हिमालयन गल्फ कोर्ष पोखराका गरी २६ प्रो गल्फरले प्रतिस्पर्धा गरेका थिए । भोलि शनिबार प्रो—एमको प्रतिस्पर्धा हुने छ । विजेता थापाले नगद १ लाख १४ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुने गल्फरले ५३ हजार नगद पुरस्कार पाए । २१ औं स्थानसम्मका गल्फरले नगद पुरस्कार पाएका छन् । फोटो फाईल