एशियाड खेल्ने कराते टोलीद्वारा सहारा एकेडेमीको भ्रमण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए ।

कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे । उनले भने—‘हामीले सहाराको धेरै चर्चा सुनेका थियौं । आज यहि आउने अवसर मिल्यो । सहाराको कामको हामी सबैले प्रशंसा गर्नुपर्दछ ।’

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले दुई दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए । क्लबका अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए ।

उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबका तर्फबाट सफलताको कामना गरेका थिए । हिरासिंह डंगोल र श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा चञ्चला दनुवार, अनु अधिकारी, सुनिता महर्जन, रिता कार्की, परशुराम बास्तोला दिवस श्रेष्ठ र सोनाम लामा छन् ।सोही अवसरमा हङकङ सहारा क्लबका सह कोषाध्यक्ष नवराज (प्रविण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफुल र चाउचाउ प्रदान गरेका थिए ।