करणको फिटनेससँगै बलिङ अभ्यास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३० गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-मध्यान्हको टण्टलापुर घाम । लकडाउन पनि केही खुकुलो भएको छ । सर्प लुक्नेयुक्त घाँसे मैदान । पोखरा रंगशालाभित्रको घाँसे मैदानमा नेपाली क्रिकेट टोलीका सदस्य करण केसी नियमित प्रशिक्षणको लागि व्यस्त छन् । उनलाई घामले शीर नै पोल्ने भएपनि वास्ता छैन् । वास्ता छ त केवल आफनो फिटनेसको ।

जिल्ला खेलकुद विकास समितिले लकडाउन शुरु हुन केहीदिन अघि पोखरा रंगशालाभित्र खेलकुदका कुनैपनि गतिविधि नगर्न सार्वजनिक सूचना गरेको थियो । चैत ११ गतेदेखि लकडाउन शुरु भयो । त्यसको दुईदिनपछि पोखरा रंगशालाभित्र प्रशिक्षण फुटबल मैदान निर्माण कार्य शुरु गरियो । नियमित रुपमा काम भएपछि रंगशालाभित्र प्रशिक्षण गर्न करणलाई सहज हुन पुग्यो ।

‘एक महिना घरमै बसे । त्यसपछि खेलकुदमा सोधेपछि फिटनेस गर्न रंगशालाभित्रको क्रिकेट मैदान आउन थाले’–करणले भने–‘फिटनेस शुरु गरेको दुईसाता जति भयो ।’ खेलाडीको लागि फिटनेस महत्वपूर्ण हो । लामो समयको लकडाउनले घरमै थन्किनुपर्ने परिस्थितिले खेलाडीलाई अहसज हुन पुगेको छ । यद्यपी लकडाउनको सदुपयोग गर्दै उनले घरमै बसेर पनि फिटनेस गरिरहेको प्रष्ट्याए ।

दैनिक तीनदेखि चार घण्टासम्म फिटनेस गर्दै आएको उनी सुनाउँछन् । ‘एक घण्टा दौडिने र अन्य शारीरिक व्यायाम गर्छु’ उनले भने–‘त्यसपछि बलिङ प्राक्टिस गर्छु ।’ बलिङ प्राक्टिसको लागि पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा छ वटा विकेट तयार गरिएको छ । दुईवटा सिमेण्ट पीच छ भने चारवटा टर्फ पीच तयार गरिएको छ । घरेलु फ्रेन्चाईज लिगको रुपमा एभरेष्ट प्रिमियर लिग थियो । महामारीकै कारण स्थगित गरिएको थियो । अन्तराष्ट्रिय मैत्रीपूर्ण एकदिशवसीय खेलहरु समेत खेल्ने तालिका थियो । सबै कोरोनाकै कारण रद्द हुन पुगे ।

अहिले खेलकुदका गतिविधि सबै शून्यमा छ । आयोजनाको तयारीमा रहेको ठूला प्रतियोगिताहरु समेत स्थगित हुदाँ खेलाडी फुर्सदिला बनेका छन् । कोभिड–१९ ले कहर निम्त्याएपछि सबै खेलाडी घर घरमै बास्न बाध्य छन् । तिब्र गतिका बलर करणले खेलाडी फिट हुनुपर्ने जनाउँदै फिटनेसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘खेलाडी फिट हुनपर्छ ’ उनले भने–‘नियमित रुपमा फिटनेसको खाँचो छ ।’ उनका अनुसार क्रिकेटका सबै खेलाडीहरु घरमै फिटनेस गरिरहेका छन् । करणसँगै महिला यु–१९ राष्ट्रिय टोलीकी सदस्य शिला क्षत्री पनि फिटनेसको लागि नियमित रुपमा क्रिकेट मैदान आउन थालेकी छन् । करण र शिलाले नियमित रुपमा फिटनेस गर्दै आएका छन् ।