कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २२ गते २०७५ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज) अदालती मुद्धा मामिलाको झमेला, अनेकन संघर्षपछि कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षको लागि निकै लामो समयदेखि देश दौडाहा रहेका शेर्पा शनिबार सम्पन्न निर्वाचनबाट बहुमत पाउँदै अध्यक्ष बनेका हुन् ।

शनिबार भएको एन्फा निर्वाचनमा ७७ मध्ये शेर्पाले ६३ मत प्राप्त गर्दै शेर्पा विजयी भएका थिए । साधारण सभा वहिष्कार गरेका अर्का प्रत्यासी मणी कुँवरले १२ मत प्राप्त गरे । १ मत बदर भएको थियो । एन्फा निर्वाचनबाट ४ उपाध्ययक्षसहित ११ सदस्यमा पनि शेर्पाकै प्यानल विजयी भएको छ । महिला सदस्यमा पेमा लामा यसअघि नै पेमा लामा निर्विरोध निर्विचित भइसकेकी छिन् ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार १६ औं एन्फा कंग्रेसले कर्मा छिरिङ शेर्पा दोस्रो पटकको प्रयासमा अध्यक्ष पदमा विजयी भएको हो । उपाध्यक्षमा शेर्पा प्यानलकै पंकज नेम्बाङ (६१), उपेन्द्रमान सिंह (५८ंं) कृष्ण थापा (५२) र वीरबहादुर खड्का (३९) मतका साथ विजयी भएका छन् ।

उपाध्यक्षका अन्य उम्मेदवार विराटजंग शाहीले ३३, सुनिल शम्सेर राणाले २४, मोहम्मद समिउल्लाहले १५, गणेश चन्दले ५ मत प्राप्त गरेका थिए । निर्वाचन अघिनै उम्मेदवारी छाडेको घोषणा गरेका किशोर राईले मत प्राप्त गरेनन् । उपाध्यक्ष पदमा २ मत बदर भएको थियो ।

यस्तै सदस्य पदमा कर्मा छिरिङ शेर्पा प्यानलले क्लिन स्विप गरेको छ । सदस्यमा दावा लामा पूर्णमान चित्रकार , दिनेश व्यन्जनकार दीर्घ बहादुर केसी विजय घले निरोज खड्गी किरण राई मधुसुदन उपाध्यय, प्रदेश सिंह राठौंर र रत्न कुमार श्रेष्ठले समान ४८ मत पाए । रविन्द्रमान श्रेष्ठ ४२ मत सहित विजयी भए ।

कुल ७७ भोटमध्ये ७६ मत खसेको थियो । जसमध्ये दुई मत बदर भएको थियो । ११ जना सदस्यको लागि २९ जनाको उम्मेदवारी परेको थियो । महिला सदस्यको रुपमा यसअघि नै पेमा लामा निर्विरोध निर्वाचित भैसेकी थिईन् ।

एन्फा निर्वाचनका लागि ४५ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ९ ‘बी’ डिभिजन क्लब, ४ ‘सी’ डिभिजन क्लब र एन्फा अन्र्तगतको ४ कमिटि गरी कुल ७७ मत रहेको थियो । शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्ष बन्न सफल भएका हुन् । पूर्व अध्यक्ष गणेश थापालाई फिफाले १० बर्षको प्रतिबन्ध लगाएसँगै गत वर्ष बाँकी अवधिका लागि अध्यक्ष र रिक्त रहेको उपाध्यक्षमा निर्वाचन भएको थियो ।

जसमा शेर्पा निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । गत वर्ष उपाध्यक्षमा निर्वाचित मणी कुँवरले यसपटक अध्यक्षमा उम्मेदवारी दिएपछि विधान विधान विपरित निर्वाचन हुन लागेको भन्दै साधारण सभा वहिष्कार गरेका थिए । ए डिभिजन क्लब हिर्मालन शेर्पा क्लबका अध्यक्ष समेत रहेका शेर्पा पूर्व अध्यक्ष थापाको नेतृत्वमा लामो समय एन्फा उपाध्यक्षमा रहेर काम गरेका थिए ।