कलेज प्रिमियर क्रिकेट लिग जित्दै सत्यवतीले दोहोरयायो इतिहास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १५ गते २०७४ मा प्रकाशित


पोखरा, (खेलाडी न्युज)—गत वर्षको इतिहास दोहोरयाउँदै सत्यवती उच्चमावि दमौलीले तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको उपाधि रक्षा गरेको छ । मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा कुमुदिनी होम्सले दिएको ९९ रनको लक्ष्यलाई सत्यवतीले १६ ओभरमा सात विकेटको क्षतिमा पुरा गर्दै उपाधि रक्षा गरयो । एक समय निकै दवावमा रहेको सत्यवतीका मध्यक्रमका व्याट्सम्यानले सुझबुझ गर्दै साझेदारी गर्दै रन निकालेपछि झिनो स्कोरको लक्ष्य पुरा गर्दै तीन विकेटको जित आत्मसात गरयो । गत वर्ष नै पहिलो पटक आयोजित एक्सपर्ट विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि समेत कुमुदिनी होम्सलाई हराउँदै च्याम्पियन बनेको थियो ।

टस जितेर व्याटिङ रोजेको कुुमदिनी होम्सले १८ ओभर २ बल खेल्दै ९८ रनको स्कोर बनायो । कुमुदिनी होम्सको इनिङमा दुई व्याट्सम्यानले मात्रै दोहोरो रनको योगफल तयार पारे । अनिष खड्काले इनिङ सम्हाल्दै ३२ रन र सम्राट पराजुलीले १० रनको योगदान गरे । अन्य व्याट्सम्यान भने सस्तैमा पवेलियन फर्किए । कुमुदिनी होम्सका व्याट्सम्यान बीच आपसी समन्वयको कमजोरीले रन आउटको शिकार भएका थिए । सौरभ अलीले तीन ओभर २ बलमा ३ विकेट लिए । शुशिल गिरीले पनि ३ विकेट, सन्तोष श्रेष्ठले दुई र विनय भण्डारीले एक विकेट लिए ।

९९ रनको झिनो स्कोरको लक्ष्य पछ्याएको सत्यवतीले पनि पहिलो ओभरमै अतिरिक्त रन दिदैं दवाबमा खेल्न पुग्यो । कप्तान विनय भण्डारीले पहिलो बल नै नो बल फाले । त्यसपछि वाईडमा चौका गएपछि टोलीमाथि निकै दवाब बढ्यो । यद्यपी चार व्याट्सम्यानले दोहोरो अंकको रन हिर्काएपछि झिनो लक्ष्य भने सात विकेटको क्षतिमा पुरा गर्दै इतिहासलाई दोहोरयाए । विपुल काफ्लेले २६, कप्तान विनय भण्डारीले १५, विमल सुनारले १५ र रुपक बरालले १४ रनको योगदानमा सत्यवतीले जितको लक्ष्य पुरा गरयो ।

समीर सेनले दुई विकेट लिदाँ देव साहले ३ र विश्वास पराजुलीले पनि २ विकेट लिए । प्रतियोगितामा आठ कलेजको सहभागिता रहेको थियो । प्रतियोगिताको म्यान अफ दि सिरिजबाट सत्यवतीका कप्तान विनय भण्डारी घोषित भए । सत्यवतीकै शुशिल गिरी बेष्ट बलर, रुपक बराल बेष्ट व्याट्सम्यान र कुमुदिनी होम्सका अनिष खड्का बेष्ट फिल्डर घोषित भए । विपुल वाग्ले भने फाईनलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताका विजेता टोली पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । photo-file