गण्डकी प्रदेशको बजेट- खेलकुद पुर्वाधारमा भन्दा युवा लक्षित कार्यक्रमलाई बढी बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाखको बजेट प्रस्तुत गर्दा सबैभन्दा कम बजेट भने खेलकुदलाई छुट्टाएको छ । योजना महत्वकांक्षी राखिएको भएपनि बजेट थोरै हुदाँ कार्यान्वयनमा आशंक पैदा भएको छ । गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङले युवा लक्षित कार्यक्रमको लागि सबैभन्दा बढी ५ करोड रुपैयाँ छुट्टाएका छन् । युवाको क्षमता अभिबृद्धि गर्त तथा राष्ट्र निर्माणमा सरिक गराउन युवा नीति नियम र कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याउने एवं यवाको उद्यमशिलताको अभिबृद्धि गर्न र प्रदेशको आर्थिक समृद्धि हासिल गर्न युवा लक्षित चुनौति कोषको लागि ५ करोड विनियोजन गरिएको मन्त्री गुरुङले सुनाए ।

लामो सयम बहस र विज्ञ टोली निर्माण गरी विभिन्न जिल्लामा अध्ययन गरी खेलकुदको पुर्वाधार निर्माणको लागि प्रतिवेदन तयार पारिएको थियो । तयार पारिएको प्रतिवेदन अनुसार गण्डकी प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने पोखरा महानगरपालिका–३३मा स्थान पहिचान गरेको छ । पशुपति घाट क्षेत्रको क्रिकेट मैदान बनाउने अभियानलाई सार्थकता दिन प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था मिलाएको उदघोष गरेको छ । दिप–लामाचौरमा गल्फ कोर्ष बनाउने निर्णय समेत गर्दै त्यसको लागि समेत बजेटको व्यवस्था गरिने प्रदेश सरकारले उल्लेख गरेको छ । दिप– लामाचौरमा सिचाईको जग्गामा गल्फ कोर्ष बनाउन उपयुक्त हुने ठहर प्रदेश सरकारले गरेको छ ।

सिचाईको जग्गाले गल्फ कोर्षको लागि पर्याप्त नहुने जिकिर छ । ‘डिजाईन नबनाईकन गल्फ कोर्षको लागत अनुमान गर्न सकिदैन् ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङले भने–‘अन्तराष्ट्रिय स्टाण्डर्डको बनाउन खर्चिलो हुन्छ ।’ उनका अनुसार सामान्यत गल्फको एउटा ग्रीन मात्रै बनाउन २५ लाख रुपैयाँ खर्च हुन्छ । प्रस्ताव गरिएको जग्गामा १८ वा ९ होलको कोर्ष निर्माण गर्ने भन्ने बारेमा पहिले नै यकिन हुनुपर्छ । १८ होलको कोर्ष निर्माण गर्न दिप–लामाचौरमा प्रस्ताव गरिएको जग्गा अपुग हुने देखिन्छ । इन्जिनियरिङ कलेजसम्मको जग्गा आवश्यक छ । केही व्यक्तिगत समेत जग्गा रहेकोले पनि कोष निर्माणमा समस्या हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले प्रदेश खेलुकद एकेडेमी स्थापना गर्ने लक्ष्यलाई पुरा गर्न आर्थिक वर्ष २०७६÷७७ को लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश खेलकुद एकेडेमी स्थापना कुन ठाँउमा स्थापना गर्ने भन्ने यकिन अझै भईसकेको छैन् । त्यसैगरी अन्तराष्ट्रिय बहुउद्देश्यीय रंगशालाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरी निर्माण गर्न १ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री किरण गुरुङले सुनाए ।

एक स्थानीय तह एक खेल मैदान बनाउने अभिलाषालाई पुरा गर्ने लक्ष्य अनुसार अघि बढेको छ । नगरपालिकामा रंगशाला निर्माण गर्न ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारले नै पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको स्तरोन्नति गर्न ३ करोड छुट्टाईसकेको छ । प्रदेश सरकारले पनि क्रिकेट मैदानको लागि २ करोड रुपैयाँ छुट्टाइको छ । प्रदेश र संघीय सरकारले छुट्टाएको ५ करोड रुपैयाँबाट क्रिकेट मैदानसहित पवेलियन निर्माण गर्ने योजना कास्की जिल्ला क्रिकेट संघले गरेको छ ।

‘पवेलियन बनाउने(चेन्जिङ रुम, शौचालयसहित) अम्पायर र मिडिया बक्स बनाउने योजना छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘आउट फिल्ड, तारजाली लगाउने, वर्षातको पानीको निकास गर्ने ड्रेन बनाउने लागयतका पुर्वाधार तयारमा खर्च गरिन्छ ।’ संघका अध्यक्ष सिग्देलका अनुसार साग गेम्स अन्तर्गतको क्रिकेट(महिला) पोखरामा आयोजना गरिने छ । महिला क्रिकेट पोखरामै आयोजना गर्नुपर्ने दबाव दिदैं उनले त्यसको लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए । पोखरमा महिला क्रिकेट प्रतियोगिता आयोजनाको लागि प्रशिक्षणस्थलकै रुपमा बनाउन भरतपोखरीको उक्त जग्गामा तत्कालै सम्याउनुपर्ने खाँचो औल्याए । मुस्ताङमा हाईअल्टिच्युड तालिम केन्द्रको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण गर्न १ करोड ५० लाख व्यवस्था गरिएको छ । तस्बिर छुम्बी लामाको फेसबुकबाट