चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल,नेपाल आर्मी र जावलाखेल बीच पहिलो खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगितामा इतिहास दोहोर्याउन र लेखाउन क्लब आतुर छन् । तीन क्लबले उपाधि उचाल्दै कोरेको इतिहासलाई दोहोर्याउने अभियानमा छन् । पाँच क्लब भने उपाधि उचाल्दै पोखरामा लिग भलिबलबाट उदाउने लक्ष्यमा छ ।

नेपाल आर्मी, हेल्प नेपाल र नेपाल पुलिस क्लबले एक एक पटक उपाधि उचालिसकेको छन् । चौथो संस्करणको प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्य सहित आर्मी र जवलाखेल भलिबल ट्रेनिङ सेन्टरसँग पहिलो खेल खेल्ने छ । नेपाल भलिबल संघको तथ्यांक अनुसार नेपाल आर्मीले २०७४ सालमा उपाधि उचालेको थियो । २०७१ सालमा हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले २०७० सालमा उपाधि उचालेको संघमा महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । लिगको अवधारणा शुरु गरिएपछि भलिबल प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको भएको दावी समेत उनले गरे ।

दोस्रो खेल हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लब काठमाडौंसँगै प्रतिस्पर्धा गर्ने छ । आईतबार नै तेस्रो खेलको रुपमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग खेल्ने छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नयाँबजार स्पोर्टस क्लब काठमाडौं कोर्टमा खेल तालिका सार्वजनिक गरिएको छ । उपाधि रक्षा गर्न हेल्प नेपाल स्पोर्टस क्लबले भारतीय खेलाडी भित्रयाईसकेको छ ।

पुर्व भारतीय राष्ट्रिय खेलाडी समेत रहेका ललित, रणबिर, नरेन्द्र र विकास तमाख चौथो संस्करणको आरबिबि एनभिए भलिबलको लागि आउँदै छन् । नयाँ बजार स्पोर्टस क्लबले पनि भारतीय खेलाडीहरु सुबम चौधरी, आदेप्रताप सिंह र आजार थरलाई भित्रयाउँदै उपाधि उठाउने लक्ष्यसहित पोखरा आईपुग्ने छ । टोलीहरु शनिबारसम्म पोखरा आईपुग्ने प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले जानकारी दिए ।

विभागीय टोलीमा राष्ट्रिय खेलाडी छन् । नेपाल पुलिस क्लबमा नेपाली भलिबल टोलीका कप्तान ईम रानाले नेतृत्व गर्ने छन् । उनीसँग कुलबहादुर थापा, विशाल विक र राजु थकाली टिम सेटको रुपमा खेल्ने छन् । शसस्त्र प्रहरी बल(एपीएफ)मा महेन्द्र श्रेष्ठ, मिलन मल्ल र विजय थापा छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा मानबहादुर श्रेष्ठ, नरेन्द्र गिरी, ईश्वर रानामगर(लिबरो), दुर्गा महतो, हरि अधिकारी र राजीव भट्ट छन् । भारतीय पुर्व राष्ट्रिय खेलाडीको उपस्थितिले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने विश्वास नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले लिएका छन् ।

नियम अनुसार प्रतियोगितामा क्लबले एक सेटमा ३ जना विदेशी खेलाडीलाई समावेश गर्न पाउने छ । बेष्ट अफ फाईभमा खेलाईने छ । ८ क्लबले ७ खेल खेल्ने छन् । ७ खेलमा सबैभन्दा बढी अंक रहेको शीर्ष दुई क्लब बीच फाईनल प्रतिस्पर्धा गराइने छ । विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक गुरुङले जानकारी दिए ।

तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए । प्रतियोगिताका आर्थिक संयोजक एवं नेपाल भलिबल संघका सल्लाहकार नारायणप्रसाद शर्माले प्रतियोगिताको लागि २१ लाख खर्चको अनुमान गरिएको छ । बचत रकमले पोखराको भलिबल खेलको विकास र विस्तारमा खर्च गरिने छ ।