टाईब्रकेरमा भाग्य लेखिएको मनाङ सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-लिग च्याम्पियन मनाङ मस्र्याङ्दीले दश खेलाडीमा सीमित बिग्रेड ब्वाईजको चुनौति पन्छाउन टाइब्रकेरको सहयोग लिदैं मनकामना केवलकार पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा मनाङले बिग्रेडलाई ५–४ गोल अन्तरले पन्छाउँदै अन्तिम चार प्रवेश गर्यो ।

दुई मिनेट बाँकी रहँदा गोलकिपरले रातो कार्ड खाँदै बाहिरिएपछि बिग्रेड ब्वाईजले लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दीलाई नजिता सुम्पिन थप समय लगायो । दोस्रो हाफमा कमब्याक गर्दै बराबरीमा टुंगिएपछि बिग्रेडले थपिएको अतिरिक्त समयमा भने १० खेलाडीमार्फत चुनौति सामना गर्यो ।

खेलको ८८ औं मिनेटमा बिग्रेड ब्वाईजका गोलकिपर लक्कीकुमार कार्कीले रातो कार्ड खाएपछि दशखेलाडीमै थप समय गुजार्यो । मनाङका स्ट्राईकर ओलावालेले विट गर्न खोज्ने क्रममा अगाडि बढेका गोलकिपर कार्कीले डिबक्स लाईन भन्दा बाहिर क्याच गरेपछि रेफ्रीले रातो कार्ड देखाईदिए । रातो कार्डसँगै बिग्रेड ब्वाईज पोखराको मैदानमा बुधबार मनाङ विरुद्धको अन्तिम क्र्वाटरफाईनल खेल दश खेलाडीमा टुग्याउन पुग्यो ।

मनाङलाई खेलमा फर्किन ६७ मिनेट लाग्यो । पहिलो हाफमै पछि परेको मनाङका लागि विमल रानाले गोल गर्दै खेल निर्धारित सयम हुदैं थपिएको समयसम्म लम्बियो । ओलावालेले डिबक्सभित्र मिलाईदिएको हेडपासलाई रानाले फष्टबार च्याप्दै हिर्काएको बल गोलमा परिणत भएपछि मनाङ लयमा फर्किएको थियो । खेलको १५ औं मिनेटमा रितिक खड्काले दुई डिफेन्स विट गर्दै सेकेण्ड बार च्यापेर हानेको बल बारमा ठोक्किदैं जालीको सम्पर्कमा पुगेपछि बिग्रेड ब्वाईजले खुशीयाली मनाउने सौभाग्य पाएको थियो ।

मध्यान्तर हुनु अघि बिग्रेड ब्वाईजको राम्रो अवसर गुम्यो । अतिरिक्त समयमा आशिष चापागाईको पासलाई रितिक खड्काले फ्लिक गरेको बल क्रसबारमाथिबाट बाहिरिएको थियो । मनाङले पनि केही अवसरलाई पहिलो हाफमा गुमाउँदा एक गोलले पछि पर्दै दोस्रो हाफ शुरु गर्नुपर्यो । १८ औं मिनेटमा कमल श्रेष्ठकै लङपासमा सुजल श्रेष्ठले हानेको प्रहार खेर गएको थियो । मनाङका मिडफिल्डर हेमन्त गुरुङले हानेको फ्रिकिक बिग्रेडका गोलकिपर लक्कीकुमार कार्की उत्कृष्ठ बचाउ गर्दै कर्नरको अवसर दिए । कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिक पनि बिग्रेडको मानववाल भत्काएर बल पोष्टसम्म पुग्नै सकेन् ।

पेनाल्टी सुटआउटमा पहिलो प्रहार गरेको बिग्रेड ब्वाईजका पदम भट्टराईको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरेपछि मनाङ सेमिफाईनल प्रवेश ढोका खोल्यो । मनाङका लागि अन्तिम तथा पाँचौ पेनाल्टी सुरज विश्वकर्माले प्रहार गर्दै गोल गरेपछि मनाङले ढिलै भएपनि पोखराको मैदानमा सेमिफाईनल प्रवेशको खुशीयाली मनायो । पेनाल्टीमा मनाङका लागि कप्तान सुजल श्रेष्ठ, हेमन्त गुरुङ,कमल श्रेष्ठ र प्रकाश बुढाथोकीको प्रहार गोल भएको थियो । बिग्रेडका लागि रन्दिप पौडेल, सुरज ठकुरी, जय गुरुङ र मनोज राईको प्रहारले सही दिशा लिएको थियो । पेनाल्टी जोगाएका मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकानमना दर्शन प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आयोजित पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखराकप अन्तर्गत बिहीबार पहिलो सेमिफाईनल खेल शसस्त्र प्रहरी बलले जापानको रिस्हो विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने छ । pic by bhupal grg