थ्रीस्टार मदनभण्डारी गोल्डकपको सेमिफाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १४ गते २०७४ मा प्रकाशित


बुटवल(खेलाडी न्युज)— मदन भण्डारी तेस्रो गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्दै सिजनको तेस्रो उपाधिको लक्ष्यमा पुगेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोल अन्तरले रोक्दै थ्रीस्टार अन्तिम चारमा सुरक्षित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८४ औं मिनेटमा हिमालयनका तिर्थ बस्नेतले पहिलो गोल गरेर अग्रता लिएका थिए । ८६ औं मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी लावलले लामो प्रहार मार्फत बराबरी गोल फर्काए । खेलको इन्जुरी समयमा विदेशी खेलाडी मार्टिन्सले विपक्षी गोलकिपर अगाडि बढेको मौकामा बललाई जाली चुमाउंदै निर्णायक गोल गरेर टिमलाई जित दिलाए ।

थ्रीस्टार यही चैत ४ गते बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपको उपाधि विजेता हो । बुधबारको खेलमा थ्रीस्टारका मार्टिन्स मयान अफ दि म्याच घोषित हुंदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । पाहुना टिमलाई दर्शकहरुले राम्रो साथ दिएका थिए । पाहुना टिमको खेल उत्कृष्ट भएता पनि स्ट्राकरको अभाव खड्केको थियो ।

जसका कारण खेल अवधिमा आधा दर्जन राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । उता थ्रीस्टारले पाएका अवसरलाई विपक्षी किपरले असफल तुल्याइदिएका थिए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बिहीबार विभागीय टिम नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लब प्रतिस्पर्धा गर्नेछन् । चैत १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।