दोस्रो आमन्त्रित राष्ट्रिय टेबल टेनिसमा काठमाडौं टिम च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा आयोजित दोस्रो आमन्त्रित राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । पाँच विधा मध्ये काठमाडौंले ३ स्वर्ण जित्यो । सुनसरी दोस्रो र ललितपुर तेस्रो स्थानमा रह्यो ।

मिक्स डबल्स र गल्र्स डबल्सको उपाधि जितेको काठमाडौंले तेस्रो उपाधि जित्ने क्रममा शुक्रबार दिउँसो पोखरा रंगशालाको कभर्ड हलमाा गल्र्स सिंगल टेवल टेनिसको उपाधि समेत रक्षा गरेको छ । मेन्स सिंगलको उपाधि भने सुनसरीका प्रतिक थापाले जित्न सफल भए ।

कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा सञ्चालित प्रतिस्पर्धामा काठमाडौंकी सोनु थापा मगरले भक्तपुरकी अन्जु सुवाललाई सोझो सेटले पराजित गर्दै उपाधि जोगाईन् । बेष्ट अफ सेभेनमा भएको फाईनल प्रतिस्पर्धामा सुवाललाई ११—८, ११—६, १२—१० र ११—९ को सेटले पराजित गर्दै थापाले उपाधि उचालिन् । तेस्रो स्थानमा पनि काठमाडौकै सुष्मिता खड्का र मारिया थापा नै आए ।

मेन्स सिंगल तर्फको प्रतिस्पर्धामा सुनसरीका प्रतिक थापाले पहिलो सेट गुमाएर पनि कम व्याक गर्दै उपाधिको हकदार बने । उनले सुनसरीकै गणेश तामाङलाई ८—११, ११—२, ११—८, ११—४, ११—८ र ११—६ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । भक्तपुरका रविन साद र रोशन खत्रीले तेस्रो स्थानमा चिक्त बुझाए ।
प्रतियोगिताको मिक्स डबल्र्स तर्फ काठमाडौंका मारिया थापामगर र आवास चौलागाँईको जोडीले संयोग कपाली र वियंका राईलाई ११—७, ९—११, ११—९, ९—११, ११—९ को सेटमा जित्दै काठमाडौंले उपाधि पक्का गरेको थियो । काठमाडौंले गल्र्स डबल्सको उपाधि समेत कब्जा गरेको छ ।

भक्तपुरका अन्जु सुवाल र मन्जु सुवालको जोडीलाई ११—८, ११—९, ९—११ र ११—८ को सेटले पराजित गर्दै काठमाडौंका सुष्मिता खड्का र सोनु थापाको जोडीले उपाधि जित्न सफल भए । मेन्स डबल्सको प्रतिस्पर्धामा ललितपुरका संयोग कपाली र अभिषेक खड्काको जोडीले सुनसरीका गणेश तामाङ र प्रतिक थापाको जोडीलाई १७—१५, १६—१४ र ११—७ को सेटले पराजित गर्दै उपाधिमा नाम लेखाएका थिए ।

प्रतियोगितामा महिला तर्फ वियंका राई (ललितपुर) र गोविन्द कौशल(रुपन्देही)का खेलाडी उत्कृष्ठ खेलाडी घोषित भए । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा सञ्चालित आमन्त्रित टेबुल टेनिस प्रतियोगितामा ८ जिल्लाका जुनियर तथा सिनियर महिला २५ पुरुष २२ गरि ४७ जना खेलाडीहरुको सहभागिता रहेको कास्की जिल्ला टेवल टेनिस संघका अध्यक्ष उत्तम जोशीले बताए ।

कास्की जिल्ला टेवल टेनिस संघको आयोजनामा सञ्चालित ‘दोस्रो आमन्त्रित राष्ट्रिय टेबल टेनिस प्रतियोगितॉ का विजेता खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की जिल्ला खेलकुद विकास समितिका दिपकबहादुर गोदार, कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकारद्वय रमाकान्त बराल र बावुराम पन्त लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । पोखरामा राष्ट्रियस्तरको प्रतियोगितामा भने १३ वर्षपछि भएको हो । संघको भने यो दोस्रो सस्करण हो । तस्बिर उमेश पुन