पोखरा(खेलाडी न्युज)-नवलपुरमा गण्डकी प्रदेशको बैकल्पिक रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । नवलपुरको कावासोतीमा ट्रयाक एण्ड फिल्डसहितको भौतिक पूर्वाधारयुक्त स्पोर्टस कम्प्लेक्स निर्माण गरिने छ । त्यसको लागि आवश्यक विस्तृत प्रतिवदेन परियोजना(डिपिआर)को अन्तिम चरणमा छ । बैकल्पिक रंगशाला निर्माणपछि ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना गर्न सहज हुने छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान तथा ट्रयाक निर्माण गरिएको छ । अन्य भौतिक पूर्वाधार समेत तयारी छ । अन्य जिल्लामा पूर्वाधार नहुदाँ राष्ट्रियस्तरका प्रतियोगिता पोखराबाट प्रदेशकै अन्य शहरमा आयोजना गर्न सकिएको छैन् ।
‘गण्डकी प्रदेशको बैकल्पिक रंगशालाको रुपमा बिकास गर्ने योजनासहित आवश्यक पूर्वाधारको लागि डिपिआरको अन्तिम तयारी छ ’ नवलपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले भने–‘डिपिआरको फाईनल भएपछि बजेटको इष्टिमेट आउँछ । त्यसपछि काम शुरु हुन्छ ।’ बैकल्पिक रंगशालाको रुपमा विकास गर्ने योजनासहित नवलपुरमा २० विघा(२६० रोपनी) क्षेत्रफल छुट्टाइएको छ ।
एक निर्वाचन क्षेत्र एक खेल मैदान सरकारको योजना छ । त्यसै अनुसार युवा तथा खेलकुद मन्त्रालयले ४० लाख रुपैयाँ कावासोती नगरपालिकामा पठाईसकेको उनको भनाई थियो । स्थानीय नवलपुरका संघीय सांसद तिलक महतको पहलमा सार्वजनिक जग्गामा सरकारी कार्यालयसहित खेलकुदको पूर्वाधार बनाउन जग्गा छुट्टाइएको कार्यालय प्रमुख श्रेष्ठले सुनाए । ‘१ सय ७० विघा जमिन छ । सरकारी कार्यालय बनाईने छ । त्यसको अर्को भागमा २० विघा क्षेत्रफलमा स्पोर्टस कम्प्लेक्स बनाउने छौं ।’ उनको भनाई थियो ।
नवलपुर रंगशालाको रुपमा योजना अघि सारिएपनि भविष्यमा यो क्षेत्रीय रंगशाला हुने विश्वास गरिएको छ । ‘फुटबल मैदानसहित क्रिकेट, कभर्ड हल, भलिबल कोर्ट लगायत अन्य खेलका पूर्वाधार तयार गरिने छ’ उनले भने–‘मन्त्रालयबाट आएको ४० लाखले फुटबल मैदानको लागि जमिन सम्याई आकार दिने काममा खर्च गरिने छ ।’ पोखरा रंगशाला ४१५ रोपनी क्षेत्रफलको छ । जुन नेपालकै ठूलो क्षेत्रफल भएको रंगशाला पनि हो । रंगशालामा फुटबलसहित क्रिकेट, टेनिस, आर्चरी, ह्याण्डबल,बास्केटल, भलिबल, स्क्वास, बैकल्पिक फुटबल मैदान, व्याडमिन्टन हल लगायतका पूर्वाधार छन् । गल्फको लागि पनि ३ होलको ग्रिन तयार गर्ने योजना समेत छ ।
कभर्ड हल निर्माणकै चरणमा छ । हलको छाना छाउने तयारीमा रहेको कार्यालय प्रमुख श्रेष्ठले सुनाए । कावासोती नगरपालिका वडा नं ३ मा निर्माण हुने रंगशालालाई राष्ट्रिय खेलकुदबाट बजेट भने प्राप्त भईसकेको छैन् । गण्डकी प्रदेश सरकार एवं संघीय सरकारको बजेटबाटै निर्माण गर्ने योजना छ । नवलपुरमै अन्य विभिन्न ठाँउमा कभर्ड हल निर्माणाधिन अवस्थामा छन् । एक निर्वाचन क्षेत्र एक खेल मैदान अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरी फुटबल मैदानको लागि मन्त्रालयले ५० लाख दिएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि मन्त्रालयको बजेटबाटै कभर्ड निर्माण शुरु गरिएको छ ।