नेपाललाई ११५ रनको चुनौति, सन्दीप र दिपेन्द्रले लिए ४—४ विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—लेग स्पीनर सन्दीप लामिछाने र मिडियम पेस बलर दिपेन्द्रसिह ऐरीको घातक बलिङमा पपुवा न्युगिनी ११४ रनमै अलआउट हुन पुग्यो । केवल २७ ओभर २ बल खेलेको पपुवा न्युगिनीका लागि सर्वाधिक रन भने चाल्र्स एमिनीले बनाए । उनले १८ बलको सामना गर्दै एक चौका र एक छक्का हन्दै १९ रनको पारी खेले । जोसन किलाले १५ रनको योगदान दिदाँ टोनी उरे भने ११ रनमै पवेलियन फर्किए ।

लामिछाने र ऐरीले ४—४ विकेट लिए । ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन खर्चिएर ४ विकेट लिदाँ लामिछानेले आठ ओभरमा २९ खर्चिदैं ४ विकेट लिए । सोमपाल र करण केसीको नाममा भने एक एक विकेट लेखियो ।

हेड टु हेडमा पछाडि-नेपाल हेड टु हेडमा पपुवा न्युगिनी भन्दा पछि छ । नेपाल र पपुवा न्युगिनी बीच पहिलो पटक सन २००५ मा मलेसियामा भएको आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल ७० रनले पराजित हुन पुगेको थियो । त्यस्तै सन २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको थियो । दोस्रो लेगमा पनि नेपाल ३ विकेटले पराजित हुन पुगेको थियो ।

अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज इतिहास लेख्ने अभियानमा छ । जिते इतिहास लेखिने छ । पराजित भए अर्को अवसर कुर्नुपर्छ । क्रिकेटको विश्वकप छनोटमा सहभाागिता जनाउँदै क्रिकेटमा इँटा थपेको नेपालले अर्को इतिहास लेख्ने मात्रै एक कदम बाँकी छ । जितले नेपाललाई क्रिकेटको एकदिवसीय मान्यता पाउँछ ।  विश्वकप छनोटमा सुपर सिक्समा प्रवेश गर्न असफल भएको नेपालको लागि आज पपुवा न्युगिनीसँगको भेट एकदिवसीय मान्यताको लागि अन्तिम अवसर पनि हो । त्यो अवसरलाई आज नेपाली क्रिकेटरले चुकाउनु हुदैन् । जुन निर्णायक पनि हो ।
नेदरल्याण्डले हङकङसँग अर्को प्लेअफ खेल्दै छ । नेपालले एकदिवसीय मान्यता पाउन नेदरल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ । नेपालले पपुवा न्युगिनीलाई र नेदरल्याण्डले हङकङलाई हराए एकदिवसीय मान्यताको हकदार बन्ने छ । तर नेपालले जित र नेदरल्याण्ड पराजित भए सातौं स्थानको लागि नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुने छ जुन एकदिवसीयको लागि निर्णायक हुने छ । चार वर्षको लागि नेपाली क्रिकेटको भविष्य लेखिने छ । पराजित टोली डिभिजन २ मै फर्किने छन् ।