नेपाल पुलिसका राईलाई सफल पोखरा म्याराथनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- १२ औं सस्करणको सफल पोखरा म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । करियरको छैटौं म्याराथन उपाधि जित्ने क्रममा राईले २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै उपाधि जिते । ‘करियरको यो छैटौं म्याराथन उपाधि हो ।’ सफल पोखरा म्याराथन दौड पुरा गरेपछि खेलाडी न्युजडटकमसित प्रतिक्रिया दिदैं भने—‘दौडको बेलामा सडकमा भने कुनै कठिनाई भने भएन् ।’ आफु हङकङमा आयोजित १५ औं एशियन म्याराथनमा पाँचौ स्थान भएको बताए ।

राईले काठमाडौंमा आयोजित रियल काठमाडौं म्याराथनको उपाधि जितेका थिए । त्यस्तै ४० औं एथलेटिक्स प्रतियोगिता अन्तर्गत आयोजित म्याराथन समेत आफनो नाममा लेखाए । पुर्वाञ्चलमा गत वर्ष सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याराथन उपाधि समेत उनले जितेका हुन् । १० औं काठमाडौं म्याराथन समेत उनले जिते भने प्रधानसेनापति कप म्याराथनको उपाधि पनि उनले आफनो नाममा लेखाएका थिए । ‘म्याराथन दौडिन शुरु गरेको पाँचवर्ष जति भयो ।’उनले भने—‘पाँच वर्षमा छैटौं उपलब्धी हासिल गरे ।’ त्यसैगरी नेपाल आर्मीका हरिकुमार रिमाल भने दोस्रो स्थानमा चिक्त बुझाए । उनले २ घण्टा ३८ मिनेट ४६ सेकेण्ड लगाए । तेस्रो स्थान पनि नेपाल आर्मीकै धावक आईपुगे । आर्मीका लालबहादुर थापाले २ घण्टा ३९ मिनेट ४२ सेकेण्ड लगाउँदै तेस्रो स्थान लिए । चौथो स्थानमा भने शसस्त्र प्रहरी बलका गणेश ठकुरी रहे । गतवर्षको म्याराथनमा भने नेपाल आर्मीले बर्चस्व कायम गरेको थियो । म्याराथनमा ११३ जना विभिन्न जिल्ला, विभागीय टोलीका धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

सफल दूधको मुख्य प्रायोजन, पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग, एडभेन्चर स्पोर्टस नेपाल प्रालि, गण्डकी विकास बैंक लिमिटेड सह प्रायोजक, लुम्बिनी विकास बैंक र सहारा युके उप प्रायोजकमा रहेको म्याराथन विजेताले ७० हजार नगद, उपविजेताले ४५ हजार, तेस्रो स्थानमा आईपुग्ने धावकले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसस्तै चौथो स्थानको धावकले पनि ५ हजार नगद पुरस्कार थापे ।

१० किलोमिटर पुरुष दौड तर्फ नेपाल आर्मीका धावकको बर्चस्व रह्यो । ३७ मिनेट ५३ सेकेण्डमा दौड पुरा गर्दै आर्मीका रामजी बस्नेत प्रथम भए । ३८ मिनेट २० सेकेण्डमा पुरा गरेका कल्याण बानियाँ दोस्रो र ३८ मिनेट ४१ सेकेण्डले पछि पर्दै मिलन कार्की तेस्रो स्थानमा रहे । उनीहरुलाई विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । ५ किलोमिटर छात्रा तर्फको दौडमा ललिता लामिछाने(लक्ष्मी आवासिय मावि, लेखनाथ), माधुरीदेवी कुर्मी(शहीद स्मृति विद्यालय, छिनेडाडाँ) र कृति थापा (शिशु कल्याण्ड सेकेण्डरी स्कुल) प्रथम, द्धितीय र तृतीय भएका छन् । त्यस्तै छात्र तर्फको प्रतिस्पर्धामा सागर श्रेष्ठ (जेसिज सेकेण्डरी स्कुल भक्तपुर), अनिष कार्की(ड्याफोडिल स्कुल) र मदन ओली(सृजना)ले क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । दौडमा प्रथम हुनेले १०, द्धितीय हुनेले ७ र तेस्रो हुनेले ४ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पोखरा रंगशालाबाट शुरु भएको दौड पोखरा लेखनाथ महानगरपालिकाको बजार क्षेत्र परिक्रमा गरी पोखरा रंगशालामा आएर टुंगिएको थियो । म्याराथनसँगै रन फर फनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मेयर मानबहादुर जिसी समेत सहभागि थिए ।