पदक विजेता प्याराग्लाइडिङ खेलाडी तथा अफिसियललाई पोउवासंघद्वारा सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एक महिना अघि इण्डोनेसियामा रजत पदक जितेर फर्किएको प्याराग्लाईडिङ टोलीलाई शुक्रबार पोखरा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । इण्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ तर्फ नेपालले ऐतिहासिक रजत पदक जितेर फर्किएको थियो

नेपालले २० वर्षपछि प्याराग्लाइडिङ पुरुष क्रसकन्ट्री टिम इभेण्टमा रजत पदक जितेको थियो । जापानसँग २७ अंकले पछि पर्दै रजतमा चिक्त बुझाएको नेपाली टिमलाई पोखरा उद्योग वाणिज्य संघले शुक्रबार ३२ औं महाधिवशेनको अवसरमा सम्मानपत्रबाट सम्मानित गरेको हो ।

नेपाली टिमका कप्तान विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विशाल थापा र विजय गौतमले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकमा योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत थिए । महिला तर्फ त्रिशा श्रेष्ठ, सविता तामाङ र प्रतिभा भुजेलले सहभागिता जनाई स्वदेश फर्किएका थिए । उनीहरुलाई अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

दुई साता अघि मात्रै गण्डकी प्रदेश सरकारले पदक विजेता खेलाडीलाई जनही नगद १ लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेको थियो । खेलाडीलाई नगद १ लाख प्रशिक्षक र व्यवस्थापकलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिएको थियो । नेपाल सरकारले सरकारले खेलाडीलाई पाँचलाख, प्रशिक्षकलाई ३ लाख र व्यवस्थापकलाई डेढलाख रुपैयाँ उपलब्ध गराएको थियो ।

दुईसात अघि पोखरामा आयोजित सम्मान समारोहमा नेपाल भुतपुर्व खेलाडी मन्चले नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । परिषदका पुर्व सदस्य राजेश गुरुङले खेलाडीलाई जनही १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । प्याराग्लाईडिङ पाईलट खेलकुद क्लब, पर्यटन व्यवसायी, कास्की जिल्ला टेनिस संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्की लगायत विभिन्न संघसंस्थाले सम्मान गरेका थिए ।

पोखराबाट २० वर्ष अघि शुरु भएको प्याराग्लाइडिङले २० वर्षपछि नै रजत पदक जितेर फर्किएको थियो ।सराङकोटमा वर्षेनी आयोजना हुने प्याराग्लाईडिङ प्रतियोगिताले पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने सम्भावनाको स्तरसम्म पुर्याएको नेपाल हवाईखेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले बताए । उनले पोखरालाई साहसिक खेलकुदको गन्तव्यवस्थल बनाउन प्याराग्लाइडिङको भूमिका अझ गहन हुदैं गएको उनको भनाई थियो ।