पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय, डिजाईन फाईनल शुक्रबारको बैठकले गर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय गरिएको छ । बुधबार बसेको बैठकले आगामी सेप्टेम्बरसम्ममा बुझाउने गरी प्राकृति मैदान बनाउने निर्णय गरिएको हो । युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, परिषदका अन्य पदाधिकारीहरु, बोर्ड सदस्य तथा ठेकेदार कम्पनीका पदाधिकारीहरु सहित बैठक बसेको थियो । एक साता अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालको अनुगमनयुक्त भ्रमणले साउन १ गते बैठक बसेर सबै टुग्याउने निर्णय गरिएको थियो ।

‘बैठकले पोखराको फुटबल मैदान प्राकृतिक नै बनाउने आर्टिफिसियल नराख्ने निर्णय गरिएको छ ।’ बैठकपछि बोल्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने–‘मैदान आर्टिफिसियल नबाउने निर्णय गरी टुग्याईयो तर डिजाईनको फाईनल भने अर्को बैठकले टुग्याईने छ ।’ उनका अनुसार आगामी शुक्रबार फेरी बैठक बसेर डिजाईन फाईनल गरिने छ । मैदान आगामी डिसेम्बर १ देखि १० सम्म हुने सागलाई लक्षित गर्दै मैदान नोभेम्बरको दोस्रोसाता अघि नै हस्तान्तरण गर्ने निर्देशन गरिएको बताए ।

उनले राष्ट्रिय गौरबको योजनासँगै साग नेपालको प्रतिष्ठासँग जोडिएको भन्दै समयमै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन गरिएको स्पष्ट पारे । ‘समयमै काम सक्न निर्देशन छ ।त्यसको लागि आवश्यक सहयोग परिषदले गर्ने छ ।’ उनले भने–‘आर्थिक अभावमा नरोकिने प्रतिबद्धता गरिसकिएको छ ।’ ठेकेदार कम्पनीले भने परिषदको ठोस निर्णय नहुदाँ काममा उल्झन आउन औल्याउँदै आएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कार्तिक १५ सम्ममा तयार पार्नुपर्ने उदघोष गरेका थिए । ‘प्राकृतिक मैदान बनाउनुपर्छ । हरियाली ठाँउमा कृत्रिम मैदान बनाउने होईन् । आर्टिफियलमा जानु हुदैन् । नेचुरल नै बनाउनुपर्छ ।’ सदस्य सचिवको भनाई उदृत गर्दै बोर्ड सदस्य गुरुङले भने । पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरिएको हो ।

प्यारापिटसहित ट्रयाक एण्ड फिल्ड बनाउन आवश्यक डिजाईन फाईनल नहुदाँ काममा ढिलाई हुदैं गएको छ । कम्पनीका प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानेका अनुसार केही अप्ठ्यारालाई समाधान गरिदिए समयमै काम सकिने दोहोर्याएका छन् । ‘निर्णय गर्ने पाटोबाट हुने ढिलाईले काम गर्न हामीलाई अप्सट्याकल्सहरु छन् । त्यो छिटो निर्णय भईदिए सहज हुने थियो ।’ प्रोजेक्ट मेनेजर न्यौपानले पोखरामा सदस्य सचिवसँगै भनेका थिए–‘निर्णय गरिदिए काम समयमै टुग्याईदिन्छौै ।’

न्यौपानेले रंगशालाको ट्रयाकको लागि आवश्यक सामान जर्मनबाट नेपालको लागि कन्टेनरमा लोड हुने अवस्थामा रहेको जानकारी दिए । उनले ४५ दिनभित्रमा फिल्डमा आईपुग्ने बताएका थिए । राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड गत आर्थिक वर्षमा विनियोजन गरेको हो । नयाँ आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । फुटबल मैदानको लागि एक अर्ब २८ करोड रुपैयाको लागत अनुमान गरिएको छ । file pic