पोखरा रंगशाला फुटबल मैदान- घाँस कलकत्ताबाट, सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर फ्रान्सबाट आउँदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्रको फुटबल मैदानको घाँस अक्टोबर र प्यारापिटका सिट नोभेम्बरको पहिलोसातासम्ममा आईपुग्ने छ । डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा निर्माणाधिन फुटबल मैदानमा महिला साग फुटबल प्रतियोगिता शुरु हुने छ । महिला फुटबल बाहेक अन्य सात खेल पोखरामा खेलाईने छ ।

‘मैदानलाई आवश्यक पर्ने घाँसको चपरीलाई ‘स्प्रीङरोल’ गरेर कलकत्ताबाट ल्याउँछौंं ।’ निर्माणाधिन कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर(व्यवस्थापक) हरिबावु न्यौपानले भने–‘चपरी दशैंकै मेसोमा पोखरा आईपुग्छ ।’ कलकत्ताबाट दुवोयुक्त घाँसे मैदान ल्याउनु अघि नै मैदानको लेभलिङ फिनिसिङ गरिसकिने छ । उनका अनुसार रोल गरेर ल्याइएको चपरी लामो समय राखिदाँ कुहिने समस्या हुने हुदाँ ल्याउने वित्तिकै फटाफट ट्रान्सप्लान्ट गरिने छ ।

  •  सिट क्षमता १६हजार ५ सयबाट बढाँउदै २० हजार क्षमताको बनाईने
  • सागसम्म ८ हजार जडान गरिने

प्रोजेक्ट व्यवस्थापक न्यौपानेका अनुसार परिपक्क घाँस नहुदाँ सर्ने सम्भावना कम हुन्छ । ‘परिपक्क घाँसको चपरीलाई रोल गरेर ल्याउँछौं । घाँसको लागि अर्डर समेत गरिसकिएको छ ।’ उनले भने–‘ सामान्यत एक महिनाभित्रमा तयार हुन्छ । तर हामीले परिपक्क बनाएर ल्याउँने छौं । अक्टोबर १२ मा पोखरा आईपुग्ने छ ।’ घाँस सेट हुन एक महिनाको समय लाग्ने छ । लामो समय प्राकृतिक र कृत्रिम घाँस(एस्ट्रो टर्फ) बनाउने भन्ने विषयले निर्णय नहुदाँ समस्याको रुहेको थियो । यही साउन १ गते बसेको बैठकले प्राकृतिक मैदान बनाउने निर्णय गरेसँगै मैदानमा ओछ्याइएको गिटी समेत निकाल्न शुरु गरिएको छ ।

गिटी निकाल्ने काम सकिएपछि प्राकृतिक मैदानको लागि अन्य काम गरिने उनको भनाई थियो । मैदानसँगै वरिपरीको प्यारापिट राख्ने ढलान गरिने योजना छ । ‘मोडुलर सिष्टमको सिट हुन् । ढलान गरेर फाउण्डेशन तयार पार्ने छौं ।’ उनले भने–‘साग अघि नै भिआईपी, चेन्जिङ रुम र मिडिया सेन्टर बनाउने छौं ।’ मिडिया सेन्टर १४ मिटर चौडाई र सोही बराबरको लम्बाईको बनाईने छ । ‘चारदिनपछि थप कामदार प्रयोग गरेर कामको गतिलाई अझ दौडाईने छ ।’ उनको भनाई थियो ।

साग शुरु हुन भन्दा अघि कन्ट्रक्सनले ८ हजार सिट जडान गर्ने जनाएको छ । ‘आठ हजार सिटसहित भिआईपी प्यारापिट, चेन्जिङ रुम र मिडिया सेन्टर तयार गर्छौ ।’ प्रोजेक्ट व्यवस्थापक न्यौपानेले भने–‘बाँकी सिट प्रतियोगितापछि जडान गरिने छ ।’ उनले सिट कुन कुन क्षेत्रमा जडान गर्ने भन्ने विषयमा अहिले निर्णय भईनसकेको जनाउँदै ८ हजार सिट जडान गरिने बताए । उनले प्यारापिट, फुटबल मैदान वरिपरीको रनिङ ट्रयाक(सिन्थेटिक) र फुटबल मैदानको घाँस विदेशबाटै ल्याउने हुदाँ ६० प्रतिशत आयातको काम हुने सुनाए । ‘६० प्रतिशत आयातको काम हो । बाँकी ४० प्रतिशत मात्रै हामीले फाउण्डेशन र मैदानको लेभलिङ मात्रै गर्ने हो ।’ उनको भनाई थियो ।

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला फुटबल मैदानसँगै निर्माण गरिने प्यारपिट सिट संख्या ३ हजार ५ सय थप गरिएको छ । ‘१६ हजार ५ सय सिट राख्ने सम्झौता थियो । तर परिषदले २० हजार सिट राख्ने प्रस्ताव पारित गरिदिएको छ । कन्ट्रक्सन कम्पनीले पनि त्यसमा सहमति गरिसकेको छ ।’ राष्ट्रिय खेलुकद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने–‘अर्को साता सदस्य सचिव समेत आफैं आएर मैदान निरिक्षण गर्ने योजना छ ।’

बोर्ड सदस्य गुरुङले गण्डकी प्रदेश सरकारसँग सहयोग माग्दै सिट क्षमता २७ हजार ५ सय पुर्याउने योजना रहेको बताए । सिट क्षमता बढाउन कम्पनीले फाउण्डेशन तयार गरिदिने उनको भनाई थियो । पोखरालाई माछापुच्छ«े र फेवाताललाई देखाएर मात्रै परिचय नहुने भन्दै अब पोखराको परिचय खेलकुद शहरको रुपमा विकास गर्नुपर्ने खाँचो छ । भौतिक पुर्वाधार तयारपछि साग खेलकुदले पोखरालई ‘खेलकुदको पुर्वाधार बनाई पोखरालाई स्पोर्टस टुरिज्म सिटी’को प्रवद्र्धन हुने विश्वास गरिएको छ । एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएको छ । फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक निर्माणको काम भईरहेको छ । स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ ।