प्रदेश मन्त्री पुनसहितको टोलीले गल्फ र क्रिकेटको सम्भावित स्थलगत अध्ययन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-खेलकुद विज्ञ समूहले बुझाएको प्रतिवेदनलाई अध्ययन गर्न सामाजिक मन्त्रालयको टोली फेरी एकपटक सम्भावित क्षेत्रको फिल्डभिजिट गरेको छ । मंगलबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनसहितको एक टोलीले विज्ञ समूहले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिने भन्दै खेलकुदको लागि सम्भावित स्थलहरुको स्थलगत निरिक्षण गरेर फर्किएको छ । टोलीले विशेष गरी क्रिकेट र गल्फको पुर्वाधार निर्माणको लागि आवश्यक जग्गा फेरी अध्ययन गरेको हो ।

‘मन्त्रीसहितको टोलीसँग फेरी एकपटक क्रिकेट र गल्फको सम्भावित पुरानै ठाँउ देखायौं ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘पुरानो जग्गा हेरेर अन्तिम निष्कर्षमा पुग्ने मन्त्रालयको योजना देखियो ।’ क्रिकेटको लागि हाल भईरहेको पोखरा रंगशालाको क्रिकेट मैदान, गण्डकी प्रदेश सभास्थल नदीपुरस्थित नगरप्रशिक्षणको मैदान छन् । मन्त्रालयले पछिल्लो समय पोखरा महानगरपालिका ३० स्थित पशुपति घाटको जग्गालाई फेरी दोहोर्याएर क्रिकेट मैदान बनाउन उपयुक्त सुझाव दिइएको छ ।

मन्त्रालयका सचिव तीर्थराज काफ्लेका अनुसार गल्फको लागि सेती नदीबाँध भन्दा मुनिका सिचाईको जग्गालाई उपयुक्त देखिएको छ । यद्यपी ठोस निर्णय भने भईसकेको छैन् । भेडी फाराम भन्दा तलको जग्गालाई पनि गल्फस्थल बनाउन सकिने अध्ययन गरिएको उनको भनाई थियो । ‘मुस्ताङचोकस्थित गल्फ स्कुल, र फुलबारीभन्दा तलको जग्गा उपयुक्त छ ।’ उनले भने–‘तर गल्फको लागि ती ठाउँको जग्गा भने केही कमि हुने देखिन्छ । सिचाईको जग्गा नै उपयुक्त रहेको छ ।’

गल्फलाई १८ होल बनाउन उपयुक्त जग्गा हेरिनुपर्नेखाँचो छ । सिचाईको जग्गा डेढसय रोपनी रहेको छ । त्यसभन्दा तल पनि पर्ति जग्गा भएकोले १८ होल बनाउन सकिने सुझाव मन्त्रालयमा पेश भएको उनको भनाई थियो । मन्त्रालयले पहिलो वर्ष अध्ययनसँगै आवश्यक पुर्वाधार निर्माण गर्ने लक्ष्य र योजना बनाईरहेको छ । त्यसको लागि चार महिना अघि नै खेलकुदको विज्ञ समूहले अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गरिसेकेको थियो । गल्फ र क्रिकेटको लागि प्रदेशका विभिन्न जिल्ला अध्ययन गरेर समूहले प्रतिवेदन बनाई पेश गरिसकेको छ ।

हेरिएको जग्गामा सम्बन्धित वडााध्यक्षले समेत पर्ति जग्गामा पुर्वाधार निर्माण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । मन्त्री नरदेवी पुन लगायत मन्त्रालयको टिमले अध्ययन गरेपछि अब निर्णयमा पुगिने विश्वास खेलकुद प्रेमीले गरेका छन् । मन्त्री पुनसहित गण्डकी प्रदेश योजना आयोग प्रमुख डा.गिरधारी शर्मा, प्रदेशका मुख्य न्यायधिवक्त राजन्ेद्र घिमिरे, मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, लगायत क्रिकेट एवं गल्फ खेलसँग सम्बन्धित पदाधिकारीले सामूहिक रुपमा स्थलगत अध्ययन गरेका थिए ।