प्रिन्स दाहाललाई अन्तराष्ट्रिय ब्याडमिन्टन उपाधी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०७५ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)-काठमाण्डौका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधी हात पारेका छन् । उनले सेनाका प्रफुल महर्जनलाई २१-१३, २१-१३ को समान अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । दाहालको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधी हो । उनले हालै बिराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा पनि यु—१९ र यु—१५ दुवै तर्फ बिजय हात पारेका थिए ।

सेमिफाईनलमा पुरुष एकल तर्फ प्रिन्सले रुकेश महर्जनलाई र प्रफुलले एपिएफका सुनिल जोशीलाई पराजित गरेका थिए ।
दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र अनुमाया राईको जोडी बिजयी भयो । रत्न र अनुको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१-१९, २०-२२ र २१-१६ ले पराजित गर्दै उपाधी चुमे । दिपेश र पुजाको जोडीले एपिएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए ।

भेट्रान्स युगल तर्फ पुष्पलाल स्मृती ब्याडमिन्टका बिजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र के.बि. गुरुङ्गको जोडीलाई २१-१८, २१-१७ ले पराजित गर्दै उपाधी हात पारे ।
पुरुष युगल तर्फको खेलमा एपिएपका दिपेश धामी र बिजित थापा मगरको जोडी र सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाइृ २१-१७, २५-२१ को अन्तरले तथा तामाङ्ग र श्रेष्ठले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१-९, २१-१२ ले पाखा लगाएका थिए ।
आयोजकका अध्यक्ष भोलेश्वर र प्रकाशको जोडीलाई उपाधी
स्थानिय स्तरका खेलाडीहरुको विच भएको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका अध्यक्ष भालेश्वर दुलाल र प्रकाश राईको जोडीले जित हात पारे । मंगलबार भएको फाईनल खेलमा दुलाल र राईको जोडीले रवि चन्द्र राई र सुभाष श्रेष्ठको जोडीलाई १२-२१, २१-११ र २१-१८ ले पराजित गर्दै उपाधी जिते ।