बाम्दी अब भलिबलको गन्तव्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा–२३ चापाकोट बाम्दीमा भलिबल कोर्ट निर्माण शुरुगरेसँगै भलिबलको नयाँ गन्तव्य बन्ने छ । तालकिनारमै रहेको बाम्दीमा कोर्ट निर्माणले भलिबल खेलको विकास र विस्तार हुने विश्वास गरिएको छ । गाँउ गाँउमा खेलकुद भन्ने नारालाई सार्थकता दिन युवा तथा खेलकुद मन्त्रालयको रातो किताबमा बजेट विनियोजन भएसँगै कोर्ट निर्माण गर्न बिहीबार शिन्लायास गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले बिहीबार भलिबल कोर्टको शिलान्यास गरे ।

भलिबल कोर्टको लागि ५० लाख रुपैयाँ रातो किताबमा परेको हो । आर्थिक वर्ष २०७६/०७७ मा पोखरा–२३ बाम्दीमा खेल मैदान निर्माण गर्ने प्रस्ताव पेश गरिएको थियो । प्रस्ताव अनुसार नै भलिबल कोर्ट निर्माणको लागि खेलकुद मन्त्रालयले रातो किताबमा चढाउदै ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकम निकासा नभईसकेपनि मन्त्री विश्वकर्माले कोर्टको शिलान्यास गरेका हुन् ।
गाँउ गाँउमै खेलकुदको पुर्वाधार निर्माणले नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास कास्की जिल्ला भलिबल संघको छ । त्यही विश्वासलाई आत्मसात गर्दै भलिबल कोर्टलाई बजेट निकासा जतिसक्दो छिटो भयो उति छिटो कोर्ट तयार गरिने जनाएको छ । गण्डकी प्रदेशका सदस्य राजीव पहारी लगायत विभिन्न खेलकुदकर्मीको उपस्थिति थियो ।

पोखरा–२३ वडा कार्यालयसँगै जोडिएको पाखो जमिनलाई सम्याई खेल मैदानको रुप दिईने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले सुनाए । ‘वडा कार्यालयसँगैको जमिनलाई सम्याई लेभलिङ गरिने छ ।’ उनले भने–‘लेभलिङपछि तारजाली लगाई जग्गा संरक्षण गरिने छ ।’ उनका अनुसार बजेटकै कारण योजनाहरु कार्यान्वयन हुनमा ढिलाई र आशंका पैदा हुने भन्दै बजेट निकासा छिटो गरिदिन समेत आग्रह गरे । भलिबल कोर्टको लागि वडा कार्यालय २३ ले भने बजेट छुट्टाएको छैन् ।