भुतपुर्व खेलाडी मन्चका संस्थापक रानाभाटलाई सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- भुतपुर्व खेलाडीहरुको साझा मन्च नेपाल भुतपुर्व खेलाडी मन्चले पुर्व राष्ट्रिय खेलाडी एवं मन्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरिएको छ । पोखराको खेलकुद विकासमा पु¥याएको योगदानको कदरस्वरुप रानाभाटलाई मन्चले सम्मान गरेको हो । मन्चको नवौं वार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश नं ४ सामाजिक विकास मन्त्री नरदेवी पुनले दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिन् ।

२०५८ सालमा रानाभाटकै अगुवाईसहित अध्यक्षतामा नेपाल भुतपर्व खेलाडी मन्च गठन गरिएको हो । मन्चले पछिल्लो समय पोखरामा म्याराथन प्रतियोगिता गर्दै आएको छ । १२ औं सस्करणसम्मको म्याराथनलाई गत फागुनमा सम्पन्न गरिसकेको छ । १९७४ सालमा भारतको पटियालाबाट खेलकुद सम्बन्धी डिप्लोमा कोर्ष पुरा गरेको रानाभाट फुटबल, भलिबल र एथलेटिक्सका पुर्व राष्ट्रिय खेलाडी समेत हुन् ।

उनले रसिया र कुवेतबाट स्पोर्टस सम्बन्धी डिप्लोमा गरेका छन् । नेपालबाट अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाईसकेका रानाभाटले व्यस्थापकीय भूमिका समेत निर्वाह गर्दै अन्तराष्ट्रिय मन्चमा उभ्भिसकेका छन् । मन्चले पोखरालाई स्पोर्टस सिटीको अवधारणा अनुसार पोखरा म्याराथन प्रतियोगितालाई निरन्तरता दिएको हो । म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गर्दै आएको छ ।

भुतपुर्व खेलाडी मन्चकै पहलमा पोखरा रंगशाला पर्खाल घेराबन्दी निर्माण गरिएको छ । २०६१ सालमा झण्डै एक करोडको लागतमा पर्खाल निर्माण गरिएको थियो । गत फागुनमा आयोजित सफल पोखरा म्याराथनमा मन्चले चार लाख रुपैयाँ बचत गरेको सार्वजनिक गरियो । मन्चका कोषाध्यक्ष मन्जुलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै म्याराथनमा ११ लाख ३१ हजार रुपैयाँ आम्दानी भई सात लाख २५ हजार खर्च भएको विवरण प्रस्तुत गरे ।

मन्चका महासचिव खेम गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै मन्चमा १७७ जना भुतपुर्व खेलाडीहरु आवद्ध भएको बताए । आवद्ध भएका मध्ये १७ जना दिवंगत भईसकेका छन् । मन्चका अध्यक्ष तेजबहादुर गुरुङले भुतपुर्व खेलाडी मन्चले म्याराथन प्रतियोगितालाई अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्दै पोखरालाई अन्तराष्ट्रिय बजारमा म्याराथन सिटीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।