पोखरा(खेलाडी न्युज)-भोलि बुधबारदेखि हिमालयन गल्फ कोर्ष पोखरामा १९ औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर्नामेन्ट शुरु हुदैैं छ । सहभागि खेलाडीहरु पोखरा आईपुगेका छन् । पुर्वसन्ध्यामा खेलाडीहरुले कोर्ष अध्ययनसँगै पुर्वाभ्यास समेत गरेका छन् ।
नेपालका शीर्ष बरियताका हिमालयन गल्फ कोर्षका रेकर्डधारी गल्फर शिवराम श्रेष्ठदेखि गत वर्षका विजेता आर्मी गल्फ क्लबका धनबहादुर थापा, पशुपति शर्मादेखि दिपक न्यौपाने सबै आईपुगेका छन् । उनीहरु सबै वेष्र्टन ओपनका च्याम्पियन समेत हुन् ।
१९ औं सस्करणसम्म आईपुग्दा दश गल्फरले उपाधि आफनो नाममा लेखाईसकेका छन् । किर्तिमानीसहित शिवराम श्रेष्ठले पाँच पटक उपाधि उचालिसकेका छन् । दिपक थापा मगर, दिपक न्यौपाने र धनबहादुर थापाले दुई÷दुई पटक जितिसकेका छन् । गत वर्षको सस्करणमा भने थापाले शिवराम श्रेष्ठलाई प्ले अफमा पराजित गर्दै उपाधि उचालेका थिए । रमेश नगरकोटी, पशुपति शर्मा, मणि राई, रवि खड्का, सन्जय लामा र भुवन नगरकोटीको नाममा समेत एक पटक उपाधि लेखिसकेको छ ।
१ लाख २० हजार पुरस्कार राशीको पोखरा, काठमाडौं, धरान लगायतका गल्फरहरुले सहभागिता जनाएका छन् । ३२ व्यवासायिक(प्रो) र २५ जना एमेच्योर खेलाडीको सहभागिता रहेको हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । २१ औं स्थानसम्म आउने खेलाडीले भने नगद १२ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप थाप्ने छन् ।
‘पहिला उपाधि रक्षाको लागि नै खेल्ने हो । तयारी ठिकै छ ।’ साविक विजेता धनबहादु थापाले भने–‘राम्रो गर्ने प्रयास सधैं रहन्छ ।’ पोखराको गल्फ कोर्ष आफैंमा सबैभन्दा कठिन गल्फ कोर्ष पनि हो । उपाधि रक्षा पछि मात्रै किर्तिमानका कुरा आउने भन्दै सबै ध्यान उपाधि जोगाउनेमै केन्द्रीत हुने उनको भनाई थियो । उनले नेपालमा गल्फको व्यवसायिकतको लागि गल्फ कोर्ष हुनु जरुरी रहेको औंल्याए ।
दोस्रो स्थानमा रहेन गल्फरले ७७ हजार, तेस्रोले ५५ हजार, चौथोल ४३ हजार, पाँचौले ३५ हजार, छैटौंले ३३ हजार, सातौंले ३०हजार, आठौंले २८ हजार, नवौंले २६ हजार र दशौं स्थानमा रहने खेलाडीको भागमा भने २५ हजार रुपैयाँ पर्ने छ । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ ।
१८ होल पार ७० को कोर्षमा तीन दिन प्रतियोगिता चल्ने छ । ५४ होलको समाप्तीसँगै उपाधि विजेता घोषणा हुने छ । गत वर्ष धनबहादुर थापाले उपाधि उचाल्दा ६ ओभर २१६ को कार्ड बनाउँदै जितेका थिए । शिवराम श्रेष्ठसँग टाई भएपछि दुई होल प्ले अफ खेलिएको थियो । प्ले अफको पहिलो होल दुवैले इभार पार खेले । अर्को होल भने शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछाडि पार्दै थापाले उपाधि उचालेका थिए । हिमालयन गल्फ कोर्षमा सन २०१६ मा शिवराम श्रेष्ठको किर्तिमान बनाएका थिए । उनले ९ अण्डर २०१ खेलेका थिए ।