राष्ट्रिय स्की, साहस र गौरीलाई अल्पाईन उपाधि, क्रसकन्ट्री पहिलो पटक समावेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-तेस्रो राष्ट्रिय स्की प्रतियोगिता अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा पुरुष तर्फको उपाधि साहसराम श्रेष्ठले जितेका छन् । महिला तर्फको सोही इभेण्टको उपाधि भने गौरीमाया तामाङले जितेकी छन् । नेपाल स्की संघको आयोजना तथा स्थानीय मुस्ताङ पर्यटन व्यवसायीको व्यवस्थापन र सहकार्यमा हिमालीपारीको जिल्ला मुस्ताङको बारागुँ मुक्तिक्षेत्रमा सोमबार आयोजित प्रतियोगितामा सिनियर तर्फ अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा संगीता लामा दोस्रो र लक्ष्मी राई तेस्रो स्थानमा रहन सफल भईन् ।

जुनियर पुरुष तर्फको प्रतिस्पर्धामा सागर तामाङले स्वर्ण पदक जिते । उमंग रन्जितले रजत र क्षितिज किरण रन्जितले तेस्रो स्थान कब्जा गर्दै कास्य पदक जिते । महिला तर्फको प्रतिस्पर्धामा भने लाक्पा डोमा शेर्पाले स्वर्ण चुमिन् । आरुशी महर्जन दोस्रो स्थानमा रहँदै रजत र उजला मुनिकार तेस्रो हुदैं कास्य पदकमा नाम लेखाईन् ।

स्नो बोर्डिङ इभेण्टमा पुरुष तर्फको विशाल तामाङ, नविन तामाङ र छिरिङ तामाङले क्रमश स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए । महिला तर्फको क्रसकन्ट्री प्रतिस्पर्धामा सुजिता न्यासुप र इशा तामाङ क्रमश प्रथम र दोस्रो स्थानमा रहँदै पदक पक्का गरे । त्यसैगरी पुरुष तर्फ थुप्तेन लामाले स्वर्ण र छिमार तामाङले रजत पदक जिते । क्रसकन्ट्रीको प्रतिस्पर्धा भने पहिलो पटक आयोजना गरिएको नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले बताए ।

सोमबार आयोजित प्रतियोगितामा विभिन्न चार जिल्लाका ३३ जना खेलाडीहरुले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको लागि एकसाता अघि नै नेपाल स्की संघ तथा कास्की जिल्ला स्की संघका पदाधिकारीहरु रेकी गर्न प्रतियोगितास्थल पुगेका थिए । हिउँको मात्रा केही कम भएकोले पनि हिउँ मिलाउँदै प्रतिस्पर्धा गराउनुपरेको कास्की जिल्ला स्की संघका अध्यक्ष क्या. रामप्रसाद गुरुङले जानकारी दिए । ‘क्रसकन्ट्रीका लागि पाँच राउण्ड गराइएको थियो ।’ महासचिव श्रेष्ठले बताए ।

समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाईको मुक्तिनाथ क्षेत्रमा नेपाल स्की संघले तेस्रो पटक यो प्रतियोगिता आयोजना गरिएको थियो । स्केटिङको लागि हिउँ ठाँउ ठाँउमा मिलाएर राख्दै प्रतियोगिता समापन गरिएको उनीहरुको भनाई थियो । नेपाल स्की संघले पहिलो पटक २०१६ मा मा लाङटाङको केन्जेनमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछिको संस्करण मुस्ताङमा आयोजना गरिएको हो । नेपालमा लाङटाङ बाहेक माथिल्लो मनाङ, मुस्ताङ र दोलखाको कालिन्चोकमा पनि स्की खेलाउन सकिन्छ । तस्बिर सुशिलबावु थकाली