लकडाउनमै काम, गोस्ते खेलमैदानमा चेन्जिङ रुम ढलानको तयारी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३० गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- लकडाउन चलिरहँदा लामाचौरस्थित गोस्ते खेलमैदानको चेन्जिङ रुम निर्माणलाई अन्तिम रुप दिदैं छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त एक करोड बजेटबाट चेन्जिङ रुम निर्माण गरिरहेको छ । ढलानको तयारीमा छ । राष्ट्रिय खेलकुद परिषद मार्फत जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिबाट विभिन्न समयमा प्राप्त बजेटबाट खेल मैदान निर्माण गरिएको खेल मैदान निर्माण समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । उनका अनुसार लकडाउनमा केही दिन स्थगित गरिएको कामलाई फेरी शुरु गरिएको छ । चेन्जिङ रुम ढलानको तयारीमा रहेको उनले बताए ।

चार वर्ष अघि शुरु गरिएको योजनाले विस्तारै रुपरंग लिदैं छ । नदी किनारमा ८७ रोपनी क्षेत्रफल छ । जसमध्ये १७ रोपनी बस्तीले ओगटेको छ । बस्तीभन्दा बाहेको ७० रोपनीलाई नवआर्दश सामुदायिक विकास समाजले खेलमैदानको लागि उपयोग गरेको छ । फुटबल मैदान बनिसकेको छ । २६ रोपनीको क्षेत्रफलमा ११० मिटर लम्बाई र ७२ मिटर चौडाईको फुटबल मैदान बनाईएको छ ।

मैदान वरिपरी ढलानयुक्त प्यारापिट बनाईएको छ । मैदानको एउटा छेउमा सेभेन ए साईड फुटबल मैदान र अर्कोतिर बास्केटबल कोर्ट बनाउने लक्ष्य उनले लिएका छन् । नदी किनार तर्फ भने तारजाली ग्याभिन गरिएको छ । बाढी पहिरोको जोखिमलाई न्युनिकरण गरिएको छ । त्यस क्षेत्रमा सम्याई सवारी पार्किङको लागि छुट्टाइएको छ । समितिका अनुसार हालसम्म खेलकुद मैदानसहित प्यारापिट निर्माणमा दुई करोड ५० लाख रुपैयाँ खर्च भएको छ । मन्त्रालयलबाट एक करोड मध्ये ५० लाख रुपैयाँबाट भीइआईपी प्यारापिटसहितको चेन्जिङ रुम तयार गरिदैं छ ।