लिभरपुलका फरवार्ड रोक्नु सिटीको चुनौति ः ग्वार्डिओला

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १९ गते २०७४ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज) तीन दिनपछि दुई इंग्लिस क्लब च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेशको लागि पहिलो लेगमा भिड्दै छन् । खेल तालिका सार्वजनिक हुदाँ म्यानचेस्टर सिटीले छिमेकी क्लब लिभरपुलसँग खेल्ने निर्णय हुन पुग्यो । आउँदो बिहीबार यी दुबै बीच प्रतिस्पर्धा हुने छ । प्रिमियर लिग लीडर सिटीलाई भने लिभरपुलका फरवार्डको गतिलाई रोक्ने चुनौतिमा विशेष ध्यान दिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको भनाई छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी र लिभरपुलबीच नेपाली समयअनुसार बिहीबार राति साढे १२ बजे प्रतिस्पर्धा हुँदैछ । प्रशिक्षक पेप गार्डिओलाले लिभरपुलका तीन फरवार्डलाई रोक्नु नै आफनो ठूलो चुनौति भएको उल्लेख गरेका छन् । उनका अनुसार फरवार्ड रोक्न लगभग असम्भव हुने प्रतिक्रिया दिएका छन् । यद्यपी रणनीति बुन्नेमा आफनो ध्यान केन्द्रीत रहेको उनको भनाई थियो ।

च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब बाँकी रहेकोमा क्वाटरफाइनलमा दुवैको भेटले खेल महत्वका साथ हेरिएको छ । प्रिमियर लिगमा यसपटक लिग लिडर म्यानचेष्टर सिटीलाई हराउने एकमात्र टिम पनि लिभरपुल हो । १४ जनवरीमा लिभरपुलले सिटीलाई ४-३ ले हराएको थियो ।

खेलअघि सिटीका प्रशिक्षक ग्वार्डिओलाले मोहम्मद सलाह, रोबर्टो फर्मिनो र सादियो माने सिटीको मुख्य चुनौति भएको उल्लेख गर्दै रोक्न कठिन हुने स्पष्ट पारे । उनीहरुलाई रोक्न खेलाडीले त्यसै अनुसारको प्रदर्शन गर्नुपर्ने खाँचो उनले औंल्याएका छन् ।

लिभरपुलका मोहम्मद सलाह एक्लैले ३७ गोल गरेका छन् । माने र फर्मिनोले ३८ गोल गरेका छन् । सलाह युरोपियन गोल्डेन बुटका हकदार समेत हुन् । ‘सलाहको मात्रै डर होइन, माने र फर्मिनो पनि कडा छन् । उनीहरुलाई रोक्न लगभग असम्भव छ’ ग्वार्डिओलाको भनाई थियो । प्रिमियर लिगमा म्यानचेष्टर सिटीपछि सबैभन्दा धेरै गोल गर्ने टिम लिभरपुल नै हो । शीर्ष स्थानको सिटीले ३१ खेलमा ८८ गोल गरेको छ भने तेस्रोमा रहेको लिभरपुलले ३२ खेलमा ७५ गोल गरेको छ ।