विराट गोल्डकप उपाधि जोगाउने दाउमा आर्मी र थ्रीस्टार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


विराटनगर(खेलाडी न्युज) ः चीरप्रतिद्धन्द्धी विभागिय टिम त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तिम प्रतिष्पर्धा हुँदैछ ।

फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पु¥याउने दाउमा छ । झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको हो । संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले विराट गोल्डकपको अन्तिम प्रतिष्पर्धाका लागि आर्मीसंगको भेट पक्का गरेको हो ।

सिजनमा यी दुई टिमबीच विराट गोल्डकपमा चौथो पटक भेट हुँदैछ । तेस्रो पटक सम्मको स्पर्धामा आर्मी दुईवटा र थ्रीस्टारले एउटामा जित हात पारेको अवस्था छ । खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले थ्रीस्टारले आर्मीलाई स्तब्ध बनायो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसंग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भयो ।

११ वटा प्रतियोगितामा सहभागी भएकोमा सातवटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ । १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । उसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितिसकेको छ ।

वर्षकै सबै भन्दा बढी उपाधि जितिसकेको आर्मीका सामु थ्रीस्टारलाई जित निकाल्न भने त्यति सहज छैन । खेलमा फर्किएपछि तीन महिनाको समयमा राम्रो प्रगति गरेको थ्रीस्टारको चुनौती पन्छाउन पनि आर्मीलाई फलामको चिउरा सरह बनेको छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए । ‘आर्मीका विरुद्ध सिजनमा तेस्रो जित निकाल्ने हाम्रो तयारी हो,’ उनले भने, ‘उपाधि भिडन्तका लागि संघर्ष गर्नु पर्ने भएकाले पनि बढी नै मेहनत गरिने छ ।’ उनले यस अघि सम्मको तेस्रो भेटमा दुईपटक जित निकालिसकेका कारण चौथो भेटमा पनि जित निश्चित रहेको बताए । न्यौपानेले मजवुत टिम भएकाले दुबै टिमबीचको प्रतिष्पर्धा ५०÷५० को अवस्थामा रहने उनको विश्लेषण छ ।

‘लगातार खेलिरहनु परेको छ । फ्लडलाइटमा खेलेको अनुभव पनि धेरै खेलाडीमा छैन,’ उनले भने, ‘केही राम्रा खेलाडी घाइते अवस्थामा पनि छन् । तर पनि जित निकाल्नेमा ढुक्क छौं ।’ आर्मी भरत खवासको कप्तानीमा स्टार खेलाडी नवयुग श्रेष्ठ लगायतलाई लिएर मैदानमा जाँदैछ । प्रशिक्षक न्यौपानेले विभागिय टिम भएकाले नियमितको तालिम र सिजनका धेरै रिजल्ट आफ्नो पक्षमा परेका कारण उच्च मनोवलका साथमा मैदानमा उत्रने जानकारी दिए । उनले खेलाडीलाई विपक्षीलाई सुरुवातदेखि नै प्रेसर दिएर एट्याकिङ गेम खेल्ने पनि बताए ।

‘फाइनल खेल भएकाले यस अघिका कमिकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौं,’ उनले भने, ‘थ्रीस्टारका धेरै कमजोरीलाई पहिल्याउँदै जित निकाल्ने सवालमा खेलाडी चुक्ने छैनन् ।’ न्यौपानेले थ्रीस्टारबाट खेलिरहेका तीन जना विदेशी खेलाडीलाई सुरुदेखि नै रोकेर अर्थाथ ट्रयापमा पारेर खेल्ने तयारी रहेको जानकारी दिए । उनले जितको मुख्य आधार खेलाडीको फिटनेश र टिम वर्क नै रहेको बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसंग यस अघि दुईवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिइएको बताउछन् । ‘दुबै टिम उत्तिकै सक्षम र मजवुत छन्,’ आर्मीका पूर्व प्रशिक्षक समेत रहेका उनले भने, ‘थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने हाम्रो रणनीति छ ।’ दुबै टिमबीचको खेल बराबरी रहेका कारण सुरुवाती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने पनि बताए । फुटबलमा फर्किएको छोटो समयमै थ्रीस्टारले राम्रो प्रगति गरिरहेको जानकारी दिंदै उनले विराट गोल्डकपमा जित निकाल्ने कुरा पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

‘दुई टिमबीच धेरै राम्रो प्रतिष्पर्धा हुन्छ,’ उनले भने, ‘मेहनत गरेर खेल्दै नतिजा उम्कन नदिने हिसावमा अघि बढ्ने छौं ।’ आर्मीका पूर्व प्रशिक्षक भएका कारण पनि उक्त टिमले प्रदर्शनमा अपनाउने रणनीतिका बारेमा केसी जानकार रहेको धेरैको बुझाई छ । निराजन खड्काको कप्तानीमा मैदानमा जाने तयारीमा रहेको थ्रीस्टारका साथमा जापानीज खेलाडी ताकायु, स्टार खेलाडी विमल घर्तीमगर, बुद्ध चेम्जोङ र विदेशी खेलाडीहरु मार्टिन र पिटर लगायत छन् ।

प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिंदै आएको छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिए । आयोजकले गोल्डकपमा सहभागि सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको थियो ।