सनिल र सुमनको जोडीलाई यल कप उपाधी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १८ गते २०७५ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)-नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को पुरुष युगलमा उपाधी जित्न सफल भएका छन् । सनिल र सुमनको जोडीले आफ्नै क्लबका गत संस्करणका विजेता ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै विजयी भएका हुन् । दथुलंका राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी संयुक्त तेश्रो भए । सनिल र सुमनको जोडीले रनिङ्ग ट्रफीका नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थान हात पार्ने ससिन र सुमितले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो हुने राजु र सुमित तथा रत्नकाजी र संदीपले नगद १०÷१० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र हात पारे ।
पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको यु – १५ एकल प्रतिस्पर्धामा पनि नागबहालका सहज शाक्यले बाजी मारे । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथी २१–१५, १३–२१ र २१–१७ को जित निकाले । तेश्रो स्थानमा नागबहालकै श्रवण शाक्य तथा प्रयाग पोखरीका पुजन चित्रकार रहे ।
यस्तै मिक्स युगल तर्फ दथुलंका राज बज्राचार्य र यास्ना डङ्गोलको जोडी सोही क्लबका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले तेश्रो स्थान प्राप्त गरे ।
यु–१५ र मिक्स तर्फका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश ः नगद १०, ७ र ४ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
भेट्रान्स तर्फको प्रतिस्पर्धामा मंगल बजारका विरेन्द्र लाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडी स्वर्ण प्राप्त गर्न सफल भयो । श्रेष्ठ र ब्यञ्जनकारको जोडीले नागबहालका सुदिम शाक्य र प्रविण शाक्यको जोडीलाई २१–१७, २४–२२ ले पाखा लगाउन सफल भयो । प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकर्णिकार तथा ओकुबहालका कमल शाक्य र राजेश शाक्यको जोडीले कास्य पाए । विजयी तीन स्थानकाले मेडल, ट्रफी र प्रमाण पत्रका साथै नगद १५ हजार, १० हजार र ५ हजार हात पारे ।
बिजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर प्रमुख जिल्ला अधिकारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मोहन बहादुर शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।