सागको लाज छोप्न हतारको चटारो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा सम्पन्न१२ औं दक्षिण एसियाली खेलकुद (साग)को समापनमा नेपालले १३ औं संस्करण आयोजक बन्ने गरी झन्डा बोक्यो । सन् २०१८ मै नेपालले सागको १३ औं संस्करण आयोजना गर्नेगरि त्यो बेला बाचा बाँधे पनि पूर्वाधार अभाव भन्दै तिथि सारेर २०१९ मार्चमा आयोजना गर्ने निर्णय गर्यो ।
तर, नेपाल आफैले गरेको बाचा अनुसारको समयमा पनि तयारी नपुगेको भन्दै पुनतिथि सार्दै आगामी डिसेम्बर १–१० सम्मको तयारी थाल्यो । पटक पटक सागको तिथि सारिरहेको नेपालले अहिले केही तातेर तयारी गरेको भएपनि यो नै प्रयाप्त छैन । प्रयाप्त तयारी नहुँदा अझै पनि सागको यो प्रतियोगिता तोकिएको समयमा नहुने पो हो की भन्ने आशंकामा खेल पदाधिकारी छन् ।

काठमाडौ र पोखरामा हुने भनिएको सागका खेल प्रतियोगिताका लागि पूर्वाधार बनाउने काम चलिरहेपनि प्रतियोगिताको दिन नजिकिँदै जाँदा भौतिक अवस्था तयारी नहुने पक्का जस्तै छ । अन्तिम समयमा हतार हतार बनाउन थालिएका यी पूर्वाधारको अवस्था हेर्दा अझै पनि खेल तोकिएको मितिमै हुनेमा खेल क्षेत्रका पदाधिकारी सशंकित छन् । खेल क्षेत्रका उच्चपदाधिकारी तोकिएकै समयमा प्रतियोगिता गर्ने दावी गरिरहँदा अहिलेको कच्चा तयारीले अझै पनि तोकिएको समयमा हुनेमा खेल क्षेत्रकापदाधिकारी नै आशंकामा रुमलिएका छन् ।

‘अहिलेको पुर्वाधारको हिसाबले हेर्दा अझै पनि साग सर्ने हो किभन्ने आशंका गर्ने ठाउँ छ,’ खेलकुद संघका एक पदाधिकारी भन्छन, ‘बाहिरबाट झट्ट हेर्दा पूर्वाधार बनाउने काम तिब्र छ । तर, अबको केही साताभित्रकाम सक्न मुस्किल छ । कमजोर संरचनामै जर्बजस्ती खेल खेलाएमात्रै तोकिएको समयमा होला, नत्रभने अझै पनि सागहुनेमा हामी ढुक्क छैनौ ।’ ती खेल पदाधिकारीकाअनुसार अहिले पोखरामा बनिरहेका पुर्वाधार अबको केही साताभित्र सक्न हम्मेहम्मे छ । अझ केही खेल त उद्घाटन अघि नै पोखरामा गर्ने तयारी हुँदाझनै समस्या रहेको ती खेलकर्मीको भनाई छ ।

पोखरामा सागका ९ वटा खेल खेलाउने योजना छ । महिला फुटबल,बिच भलिवल, प्याराग्लाइडिङ, आर्चरी, क्रिकेट, ह्याण्डबल, भारत्तोलन, ट्रायथोलन र ब्याडमिन्टनका प्रतियोगिता पोखरामा खेलाउने तयारी छ । त्यहीअनुसार यी सबै खेलका लागि आवश्यक पुर्वाधार बनाउन थालिएको थियो । तर, साग खेल पोखरामा खेलाउने भन्ने दुई वर्ष अघि नै निश्चित भईसक्दा पनि पूर्वाधार बनाउन वेवास्ता हुँदा अहिले हतारमा काम गर्नुपरेको अर्काे खेल संघका एकजना अध्यक्षले बताए । ‘बेलैमा पूर्वाधार बनाएको भएअहिले हतारमा काम गर्नपर्ने अवस्था थिएन,’ती अध्यक्षले भने, ‘समय घर्केपछिको हतारो गर्नुभन्दा पहिल्यै तयारी गरेको भए उत्तम हुन्थ्यो ।’

नेपालमा सागका ९ वटा खेल हुँदैछन् भन्ने थाहा पाउँदा पाउँदै पनि समय हुन्जेल कानमा तेल हालेर बसेकोको परिणाम अहिले देखिएको ती अध्यक्षले बताए । ‘दुईवर्ष अघि नै सागका केही खेल पोखरामा हुँदैछन् भन्ने सबैलाई थाहा थियो,’ ती अध्यक्षले भने, ‘समय घर्केपछि हतारहतार कामगर्ने संस्कारका कारण यो अवस्था आएको हो ।’ ती अध्यक्षका अनुसार विभिन्न खेलका लागि पूर्वाधार बनाउन आवश्यक छ । त्यही अनुसार कतिपय पूर्वाधार बनिरहेका पनि छन् । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आवश्यक बजेट दिएको छैन । ‘हामीलाई नै पुर्वाधार बनाउने काम निल्नु न ओकल्नु भएको छ । काम भईरहेको छ, तर, पैसा छैन,’तीअध्यक्षले भने, ‘पैसा नै नभई कसरी पूर्वाधार बनाउने ?अन्योलकै अवस्थमा गुज्रिएका छौ ।’

गत फागुन पोखरा रंगशाला फुटबल मैदान निर्माणको लागि शिलन्यास गरिएको थियो । शिलन्याससँगै ६ महिनाभित्र मैदानको निर्माण सकिने दावी तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए । निर्माणको ८ महिना भईसक्यो । फुटबल मैदान अझै तयार भएको छैन् । वरिपरीको प्यारापिटको काम अझै अगाडि बढेको छैन् । मैदानमा दुबो हाल्ने काम बाँकी छ । ठाँउ ठाँउमा दुबो मरेको छ । नयाँ दुबो हाल्नुपर्छ । त्यसको लागि दुबो आईपुगेको छैन् । मैदान तयार हुन अझै समय लाग्ने देखिन्छ । मैदान पूर्णता नहुदैं खेल खेलाउनुपर्ने बाध्यता छ ।

महिला फुटबलको लागि मैदान तयार गरिने लक्ष्यसहित काम धमाधम भएकै छ । तर प्रशिक्षण मैदान पनि पूर्ण रुपमा छैन् । गौरीशंकर खेल मैदान हेमजा र गोस्ते खेल मैदान लामाचौरलाई प्रशिक्षणस्थल बनाउने गरी निर्माण गरिएको हो । ती प्रशिक्षणस्थलमा चेन्जिङ र शौचालय निर्माणले पूर्णता पाईसकेको छैन् । त्यसले पनि महिला फुटबल प्रतियोगिता गर्न सहज हुने सम्भावना भने देखिदैन् । ‘मैदानमा दुबो पूर्णरुपमा सेट नहुदैं प्रतियोगिता खेलाउनुपर्ने बाध्यताले मर्मत सम्भारमा बढी ध्यानदिनुपर्ने देखिन्छ ।’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ बताउँछन् ।

पोखरा रंगशालाभित्रै आर्चरी खेल समेत आयोजना गरिने छ । मंसिर १५ देखि २४ गतेसम्म विभिन्न समयमा खेल सञ्चालन गरिने छ । आर्चरीको प्रतियोगितास्थल तयार गरिदैं छ । र्आचरीमा कम्पाउण्ड र रिकर्भ गरी दुई इभेण्टमा महिला तथा पुरुष एकल र मिक्स्ड तर्फ प्रतिस्पर्धा हुन्छ । प्रतियोगितास्थल निर्माणमा ध्यान केन्द्रीत गरेपनि प्रशिक्षणस्थल निर्माण गर्ने तर्फ खासै ध्यान गएको छैन् । १३ औं दक्षिण एशियाली खेलकुदको लागि मिति नजिकिदैं गएपनि प्रशिक्षण स्थल बनाउन ढिलाई गरिएको छ । ‘चेन्जिङ रुम निर्माण गर्दै छौं । ग्राउण्डको लेभल गरिसक्यौं ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन भन्छन्–‘क्रिकेट मैदानभन्दा माथिको जग्गामा प्रशिक्षणस्थल बनाउने हो । केहीदिनमा काम शुरु गर्छौ ।’

पोखरामा आयोजना हुने अर्कोखेल हो ह्याण्डबल । ह्याण्डबलको लागि पनि आवश्यक पुर्वाधार ठ्याक्कै तयार भईसकेको छैन् । ह्याण्डबल रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरिने छ । हलमा सिट, साउण्ड सिष्टम र म्याट राख्ने योजना छ । ती कुनैपनि काम भएको छैन् । झण्डै वर्षदिन अघि नै त्यसको लागि ५ करोड रुपैयाँ बजेटको अनुमान गरिएको छ । तर बजेट निकासा भएको छैन् । म्याट नहुदाँ प्रशिक्षणरत खेलाडीहरु घाईते समेत भए । त्यस तर्फ गम्भीर बन्न परिषद र ह्याण्डबल संघ सकेनन् । थोत्रो म्याट राखेरै भएपनि गुजरा प्रशिक्षण गरिरहेका छन् ।

बजारमा प्रतिस्पर्धा गर्ने खेल हो ट्रायथोलन । फेवातालमा पौडी र बजार क्षेत्रमा दौड र साईक्लिङ गरिने छ । दौड र साईक्लिङ गर्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुनुपर्छ । गत चैतमा आयोजना गरिएको एशियन ट्रायथोलन च्याम्पियनसिपमा खेलाडीलाई सवारी साधनले ठक्कर दिएको थियो । त्यही घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा गर्नुपर्छ । साइक्लिङको लागि रोड(बाटो) सहज हुनुपर्छ । तर पोखराको सडक खाल्डाखुल्डी छन् । जसले दुर्घटना समेत निम्त्याउन सक्छ । पोखरा महानगरपालिका त्यसतर्फ गम्भीर बन्न नसकेको गुनासो व्यापक छ । ‘हामीले ट्रायथोलनकै भेन्युमा पुर्वाधार बनाउने योजनामा थियौं । तर ताल किनार बसुन्धरा पार्कमा बनाउने भनेर टिप्पणी उठाइएको छ ।’ ट्रायथोलन संघ कास्कीका अध्यक्ष सुमन देवकोटा भन्छन–‘महानगरपालिकाले पार्कमा स्थायी पुर्वाधार बनाउन दिदैं । अर्को जटिलता थपिने देखिन्छ ।’ परिषदले पोखरा २२ पुम्दीमा ट्रायथोलन भेन्युको रुपमा जग्गा छुट्टाई संरक्षणको लागि २५ लाख रुपैयाँको लगानीमा भ्याभिन समेत गरिएको छ ।

कमजोर पुर्वाधार भने भारोत्तोलनको छ । पोखरा–१२ माटेपानीस्थित एसआर केसी क्याटरिङ तथा पार्टी प्यालेसमा भारोत्तोलन खेल आयोजना गर्ने निश्चित गरिएको छ । ‘भेन्यु तयारीमा लागि बल्ल समिति गठन गरेका छौं’– कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामी भन्छन–‘पैसा आएको छैन् । प्लेट फर्म बनाउन दिएका छौं ।’ रंगशालाभित्रको कभर्ड हलस्थित संघको हललाई टे«ेनिङ सेन्टरलाई रुपमा प्रयोग गर्ने योजना छ । महिला क्रिकेटको लागि पनि पुर्वाधार ठ्याक्कै भनेजस्तो भएको छैन् । काम चलाउ मैदान छ । पोखरा रंगशालाभित्रको क्रिकेट मैदान पीच पूर्ण रुपमा तयार भएको छैन् । चार वटा पीच तयारी गर्ने योजना छ । पीच बनाउन र आउट फिल्ड बनाउने पैसा नहुदाँ प्रभावकारीता देखिदैन् । ‘पीच र आउट फिल्डमा ध्यान दिनुपर्छ । तर त्यसको लागि संघसँग पैसा छैन्, परिषदले उपब्ध गराएको छैन ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल भन्छन् । महिला क्रिकेटको प्रतियोगितास्थल तय भएपनि सहभागि राष्ट्रलाई प्रशिक्षणस्थल अनिवार्य उपलब्ध गराउनुपर्छ । पोखरामा प्रशिक्षणस्थल अभावकै कारण बैदेशिक टोली पोखरा आउन हिचकिचाउने गर्छन् । बैकल्पिक मैदान नहुदाँ क्रिकेटका प्रतियोगिता प्रभावित हुने सम्भावना छ ।

पोखरामा थपिएको खेल हो विच भलिबल । विच भलिबलको लागि नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराही खेलमैदानमा कोर्ट तयार गरिदैं छ । फेवातालको पुरिएको भागबाट माटो निकालेर जमिन सम्याउँदै कोर्ट तयारी गरिदैं छ । नयाँ तीन र पुरानो एक गरी चार कोर्ट तयार गर्ने योजनासहित काम गरिएको छ । व्याडमिन्टनको लागि पुर्वाधार पूर्णरुपमा तयार भईसकेको छैन् । चारवटा कोर्टसहितको कभर्ड हल बनाउने काम दुई वर्ष अघिदेखि शुरु गरिएको हो । दुईवर्ष भन्दा अघिदेखि काम गरेपनि पुरा भएको छैन् । सागको अन्तिमतयारी भएपछि कभर्ड हललाई पूर्णता दिने तयारीसँगै काम गरिएको छ । फिनिसिङको काम बाँकी छ ।

राखेपका बोर्ड सदस्य राजेश गुरुङ पनि अन्तिम समयमा काम थाल्दा पूर्वाधार बनाउने काममा हतारो भएको बताउँछन् । उनका अनुसार फुटबल मैदान बनाउन १ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । खेलका अरु पूर्वाधार बनाउन ८ करोड रुपैयाँ विनियोजन गरिएको पनि हो । तर, विनियोजित रकम नै नआएको उनले बताए । ‘हामीले जसोतसो पूर्वाधार बनाएर इज्जत ढाक्ने प्रयास गरेका छौ । हतारका बाबजुत पनि यी पुर्वाधार बनेका हुन,’ गुरुङले भने, ‘खेल सुरु हुन अब धेरै दिनबाँकी नभएकोले सबै पूर्वाधार सतप्रतिशत पुरा हुँदैनन् ।’

सरकारले ढिलाई गरेर तयारी थाल्दा अपुरो देखिएको उनले बताए । ‘तीनमहिना अघि मात्र हामीले काम थालेका हौ । रातदिन काम गर्दा यो अवस्थामा आएकाहौ,’ उनले भने, ‘यही काम दुई महिना बढी समय पाएको भए गज्जबसँग तयारी हुन्थ्यो ।’ उनका अनुसार रंगशाला परिसरमा निर्माणाधिन कुनै पनि पुर्वाधार प्रतियोगिता सुरु हुने बेलासम्म तयारी हुने अवस्थामा छैनन । फुटबल मैदानको प्यारापिटको अझै टुंगो छैन । फुटबल मैदान परिसरमा १७ वटा शौचालय, भीआईपी प्यारापिट बनाउने भनिए पनि तयारी कमजोर रहेको छ ।

‘जसोतसो बाहिरबाट लुगालगाइदिएर लाज छोप्ने पहल गरिरहेका छौ । तर, इज्जत कतिसम्म राख्ने भन्ने सरकारले ध्यान दिनुपर्छ,’ उनले भने, ‘समयमा काम सक्न सरकारले बजेट पनि दिनुपर्ने हो । काममात्र लगाउने, तर, बजेट नै नदिने सरकारी कामले अन्योल बनाएको छ ।’ सरकारले विनियोजन गरेको बजेट पनि अनेक निहुँपारेर नदिने गरेको उनले बताए । ‘कतिपय रोकिएका काम पनि हाम्रो व्यक्तिगत अनुरोधमा भएका छन् । तर, अब पैसानदिने हो भने काम अघि बढाउने अवस्था नै छैन,’उनले भने ।