स्पोर्टस मेडिसिनको ज्ञान खेलाडीलाई अनिवार्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—खेल खेल्नु अघि वार्मअप अनिवार्य हुन्छ । वार्मअपपछि स्टे«चिङ गर्नुपर्छ । वार्मअप र स्ट्रेचिङपछि मात्रै खेलमा सहभागिता जनाउनु स्वास्थ्यका लागि निकै लाभदायक हुने चिकित्सकको सल्लाह छ । खेलसकिएपछि कुल डाउनको शारीरिक अभ्यास गर्नु झनै महत्वपूर्ण हुन्छ ।

खेल खेल्नु मात्रै नभई स्वास्थ्य रहदै खेल्न जरुरी छ । त्यसको लागि खेल्दा आईपर्ने समस्याको बारेमा समेत जानकारी हुनुपर्ने खाँचो औंल्याइएको छ । कास्की बडिविल्डङ एण्ड फिटनेस एशोसियसनले आज स्पोर्टस मेडिसिन कार्यक्रम राख्दै खेलाडीलाई खेल अगाडि र पछाडि गरिने अभ्यास तथा पोषण(न्युट्रिसन)को बारेमा जानकारी दिईएको थियो ।

एम फर्मा क्लिनिकलका विजय काफ्लेले खेलाडीलाई खेल्नुपर्ने वार्मअप र स्ट्रेचिङ तथा खेलिसकेपछि कुल डाउनको एक्सरसाईज अनिवार्य रहेको बताए । खेल्दा हुने इन्जुरी र खेलाडीलाई खेल अनुसार आवश्यक पर्ने पोषणको बारेमा समेत जानकारी गराएका थिए । उनले खेलाडीको तौल, खेलको प्रकृति र खेलाडीले लगाउने जुक्ताले समेत खेलमा प्रभाव पार्ने उनको भनाई थियो ।

जुक्ता खेलाडीको तौल अनुसार नमिलेको अवस्थामा खुट्टामा समस्या सृजना हुने उनको भनाई थियो । स्वास्थ्य रहने नाममा बढी शारीरिक अभ्यास गर्नु पनि हानिकारका रहेको उनले सुनाए । विशेष गरी शारीरिक सुगठन खेलाडीलाई ध्यानमा राखी गरिएको कार्यक्रममा उनले बढी तौल उठाउने, जीउको फरक फरक मसल्स बनाउन पनि फरक फरक टाईट खानुपर्ने सुझाव दिए । शरीरमा पानीको मात्रा तथा मिनरल्सको मात्रा मिल्नुपर्ने उनले बताए । खेल खेल्दा इन्जुरी भएको ७२ घण्टासम्म चिसो आईसले सेक्नुपर्ने र त्यसपछि भने तातो पनि विशेष गरी विहानी समयमा मात्रै सेक्नुपर्ने उनको भनाई थियो ।

शारीरिक सुगठन खेलाडीले बढी मात्रामा प्रोटिन र स्ट्रोरेड प्रयोग गर्ने गरेका छन् । तर त्यो शरीरको लागि हानिकारक भएको उनले बताए । बढी मात्रामा प्रयोगले मुुटु, मिर्गौलामा गम्भीर असर पुर्याउने उनले जनाए । भार उठाउँदा पोष्चर नमिलको अवस्थामा शरीरको पछाडिको भागमा बढी समस्या सृजना हुने गर्छ । साथै शीररका जोर्नीमा असर पुर्याउँछ । मांशपेशी फर्किएमा पुरानै अवस्थामा फर्काउन जर्वजस्ती गर्न नहुने उनको भनाई थियो ।

कार्यक्रममा शारीरिक सुगठनका प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई उपयुक्त हुने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । एशोसियसनका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा एशोसियसनका सचिव दिपक बास्तोला, शारीरिक सुगठन खेलका खेलाडी प्रकाश पौडेल लगायतले खेलाडीलाई यस्ता प्रकृतिका कार्यक्रमले जनचेतना बृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखराका विभिन्न जिम सेन्टरका प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति थियो ।