हडर्सफिल्डलाई पराजित गर्दै लिभरपुल चौथो स्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७४ मा प्रकाशित


एजेन्सी— लिभरपुलले हडर्सफिल्डलाई पराजित गर्दै इग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा लिभरपुलले हडर्सफिल्डलाई ३—० गोलले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो ।
खेलको २६ औं मिनेटमा इमरे केनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले दायाँ खुट्टाले हानेको बल दायाँ कर्नरको बार नजिकैबाट पोष्टभित्र छिरेको थियो । दबावमा राखेको लिभरपुलले दोस्रो गोल भने ४५+१ मा गर्दै पहिलो हाफमा अग्रतालाई दोब्बर बनायो । सादियो मानेले दिएको पासलाई रोबर्टो फिरमिनोले सिक्स यार्ड बक्सबाट हानेको बल बारको कुनाबाट भित्र छिरेको थियो ।

दुई गोलले पछि परेको हडर्सफिल्ड भने दोस्रो हाफमा केही लयमा देखिन खोज्यो । यद्यपी बलमाथिको पूर्ण नियन्त्रण भने लिभरपुलले राख्यो । ७८ औं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो । जुन अन्तिम गोल बन्यो । पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरेपछि लिभरपुलले ३—०ले जित्दै खेल टुग्यायो । केनलाई पेनाल्टी बक्सभित्र लडाएपछि लिभरपुलले पेनाल्टी हान्ने मौका पाएको थियो । केनले दिएको पासलाई सलाहले पोष्टमा प्रहार गरेका थिए । रिवाउण्ड भएको बल उपयोग गर्न खोज्दा केनलाई हडर्सफिल्डका खेलाडीले फउल हान्दै लडाएपछि पेनाल्टी पाएको थियो । खेलको ८७ औं मिनेटमा टम इन्सेले डिबक्स नजिकैबाट हानेको बल आउट हुन पुगेको थियो ।