प्रशिक्षक तथा क्लबका पदाधिकारीलाई फुटबल सम्बन्धी एकदिने प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) – जापानबाट आएका फुटबल प्रशिक्षकले पोखरामा विभिन्न क्लबमा आवद्ध प्रशिक्षक तथा सदस्यहरुलाई प्रशिक्षण दिएका छन् । जापानको टोकियोस्थित रिस्हो युनिभर्सिटीका फुटबल प्रशिक्षक तोकाई रिनले कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबका पदाधिकारी तथा प्रशिक्षकलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबका पदाधिकारी तथा अन्य प्रशिक्षकहरुको समेत सहभागिता थियो । एकदिने प्रशिक्षणले प्रशिक्षकलाई प्रशिक्षणको क्रममा सकारात्मक भूमिका कसरी निर्वाह गर्ने र खेलाडीको मनोबलाई कसरी उच्च बनाई राख्ने भन्ने विषयमा दिईएको थियो । व्यवहारिकसँगै सैद्धान्तिक प्रशिक्षण निकै राम्रो र अविस्मरणीय भएको कास्की जिल्ला फुटबल संघका प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदका पुर्व फुटबल प्रशिक्षक शम्भु केसी तथा ए लाईसेन्स लिएका प्रशिक्षक राजेन्द्र तामाङले आफनो अनुभव जापानीजसँग साटेका थिए । पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको पहलमा जापानीज प्रशिक्षक तोकाई रिन पोखरा आएका हुन् । विशेष गरी आगामी चैतमा जापानमा हुने यु १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताको लागि नेपाली खेलाडी छनोट गर्ने सिलसिलमा गौचनसहित फन रुट्स एकेडेमी जापानका सञ्चालक जुन हिरानो सहितको टोली पोखरा आएको थियो ।