पावर लिफ्टिङमा महिला तर्फ राना र पुरुष गुरुङ च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २२ गते २०७४ मा प्रकाशित


खेलाडीन्युज, पोखरा, २२ पुस –
रानीपौवा स्पोर्टस सेन्टरको आयोजनामा पोखरामा पहिलो पटक आयोजित महिला तथा पुरुष ‘पावर लिफ्टिङ’ प्रतियोगिताको उपाधि महिला तर्फ बुल्स जिमकी दिया रानाले जितिन् । पुरुष तर्फ निरज गुरुङ च्याम्पिनयन भए ।

विभिन्न तीन इभेण्टमा प्रतिस्पर्धा गराई ओभरअलमा प्रतिस्पर्धा गराईएको थियो । बेन्च प्रेस ¬( बेन्चमा सुतेर तौल उठाउने), डेड लिफ्ट (हात सुल्टो र उल्टो बनाई तौल उठाउने) र स्क्वाड ( तौललाई काँधमा राखेर उठाउने) प्रतिस्पर्धा गराइएको थियो ।

रानाले डेड लिफ्टमा तेस्रो स्थानमा रहिन् । स्क्वाडमा भने उनी प्रथम भईन् । र ओभरअल प्रतिस्पर्धामा उनले कुल १९० केजी तौल उठाउँदै च्याम्पियन बनिन् । उनले च्याम्पियन हुदाँ नगद १० हजार र इभेण्ट प्रतिस्पर्धामा स्क्वाडमा प्रथम हुदाँ ५ हजार र डेड लिफ्टमा तेस्रो भई २ हजार जितिन् । उनले समग्रमा १७ हजार नगदसहित जिम गर्दा प्रयोग गरिने प्रोटिन गिफ्ट ह्याम्पर समेत पाईन् । डेड लिफ्टमा पुनम परियार प्रथम भएकी थिईन् । ज्योति थापा दोस्रो । त्यसैगरी स्क्वाडमा दिया प्रथम, टिकामाया गुरुङ दोस्रो र पुनम परियार तेस्रो स्थानमा रहँदै फाईनल प्रतिस्पर्धा गरेका थिए ।

टिकामाया काठमाडौंमा सम्पन्न सुनिलाल स्मृति भारोत्तोलन प्रतियोगितामा ५८ केजी तौल समूहकी स्वर्ण पदक विजेता खेलाडी हुन् । उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भारोत्तोलन तर्फ कास्य पदक जितेकी थिईन् । काठमाडौंमा सम्पन्न एशियन जुनियर च्याम्पियनसिप तथा ताईवान युनिभर्सिटी गेम्समा समेत सहभागिता जनाएकी थिईन् । पुनम भने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी रजत पदक विजेता खेलाडी हुन् ।

निरज गुरुङले समग्रमा ४८० केजी उठाए । डेड लिफ्टमा मिथुन गुरुङले २१० केजी उठाँउदै प्रथम भएका थिए । बेन्च प्रेसमा राजन श्रेष्ठले १४० केजी उठाउँदै प्रथम भए । निरज गुरुङले डेड लिफ्टमा १९०, बेन्च प्रेसमा १३० र स्क्वाडमा १६० केजी उठाउँदै च्याम्पियन बने ।

महिला तर्फ ६ जना र पुरुष तर्फ विभिन्न जिम क्लबका २२ जना लिफ्टरको सहभागिता रहेको थियो । मुख्य निर्णायकमा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक बखतमान श्रेष्ठ तथा जीवन घिमिरे थिए । विजेता खेलाडीलाई कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले पदकसहित नगद पुरस्कार प्रदान गरेका थिए ।