खप्तड गोल्डकपमा तीन खेल पेनाल्टीबाट निर्णय

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २३ गते २०७४ मा प्रकाशित


धनगढी (खेलाडीन्युज) –मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपमा तीन वटा खेलको निर्णय पेनाल्टीबाट हुन पुग्यो । पेनाल्टीबाट निर्णय हुदैं तीन क्लब क्र्वाटरफाईनल यात्रा तय गर्दा आयोजकसँगै दर्शकले प्रतिस्पर्धात्मक फुटबलको मज्जा लिन पुगे ।

च्यासल फुटबल क्लबलाई आयोजक सुदुर पश्चिमको टोलीले पेनाल्टीमै पराजित गर्दै आफनो इज्जत राख्यो । मोफसलको अर्को क्लब सहारा क्लबलाई पनि विभागीय टोली एपीएफले पेनाल्टीमै पराजित गरेर क्र्वाटरफाईनल तय गरेको थियो । गोल्डकपकै तेस्रो खेल आईतबार पनि निर्णय पेनाल्टीबाटै हुन पुग्यो। धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गर्ने क्रममा पुर्वाञ्चलको धरान फुटबल क्लबलाई सडन डेथमा पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पार्धात्मक खेलमा धरान फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै संकटा अन्तिम आठमा पुग्न सफल भएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सजिन थापा र अभिषेक रिजालले गोल गरे । सुशिल लामा र भुषण सुब्बाको प्रहारले भने गोलको दिशा लिन सकेन ।

धरानका वर्तमान राई, रोमन लिम्बु, सुरज विके र प्रकाश बुढाथोकीले गोल गर्दा सौजन राई, सुवोध शाही र रोशन खड्काले भने पेनाल्टीबाट गोल गर्न सकेनन् । रोमाञ्चक पेनाल्टीमा धरानका वर्तमान राईले गोल गर्दा संकटाका अनिल गुरुङले गोल गरे । त्यस्तै सौजन राईले गोल गर्न नसक्दा संकटाका सुशिल लामाले पनि चुके ।

धरानका सुवोध राईले गोल गर्न सकेनन् र संकटाका विश्व अधिकारी र सरोज दाहालले लगातार गोल गर्दा खेल संकटाको पक्षमा ढल्किएको थियो । तर, संकटाका भुषण सुब्बाले निर्णायक पेनाल्टीमा चुक्दा खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथको अन्तिम प्रहारमा रोशन खड्का चुकेपछी संकटाले ५–४ ले बाजी र्मायो । संकटाका गोलरक्षक विनय श्रेष्ठ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए र उनले १० हजार रुपैया प्राप्त गरे । जितसँगै संकटाले अब सेमिफाइनल प्रवेशको लागि नेपाल एपीएफल क्लबको सामना गर्नेछ । एपीएफले शनिबार सहारा क्लब पोखरालाई पेनाल्टी सुटआउटमा ५–४ ले नै पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘बी’ मा रुस्लान थ्री स्टार क्लब र झापा–११ बीच खेल हुनेछ ।