फेवाताल छेवैमा दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २४ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा, पुस २४

फेवा किनारमा दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता हुदैै छ । सेभेन ए साईड फुटबल फेडेरेशनको आयोजनामा पुस २९ गतेदेखि नेपालसहित सागका छ राष्ट्रको सहभागिता हुने छ । प्रतियोगिता फेवा किनार बाराहीघाट खेल मैदानमा खेलाईने छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रींलका सहभागिता जनाउने छन् । यद्यपी श्रीलंकको आउने तय भएपनि स्थानीय चुनावको कारण आउन सक्ने सम्भावना न्युन रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । फेडेरेशनका अध्यक्ष नविन पुनले सेभेन ए साईड फुटबललाई पनि एन्फा मातहतमा राखेर फुटबल विकास गर्नुपर्नेमा जोड दिए । उनले सेभेन ए साईड फुटबल फेडेरेशनले फरक क्षमता भएकाहरुलाई समेट्दै अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको सुनाए । फेडेरेशनले आगामी दिनमा प्रदेशस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने तयारी रहेको जनाउँदै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

लिगकम नकाउटको आधारमा खेलाईने प्रतियोगिताको लागि पाकिस्तान र बंगलादेशी टोली ११ र १२ तारिखमा नेपाल आईपुग्ने छन् । प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि १९ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । एकलाख बचत गर्दै सेभेन ए साईड फुटबलको विकासमा खर्च गर्ने फेडेरेशनले जनाएको छ ।

प्रतियोगितालाई प्रभु मनि ट्रान्सफर, माछापुच्छ«ृे ब्रिक फ्यान्ट्री प्रालि, दीप हाउजिङ, गोर्खा ब्रुअरीको उत्पादन सानमिगेल वियर र रेडबुलले प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । पत्रकार सम्मेलनमा पशिचमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई टुरिज्म मात्रै नभई स्पोर्टस टुरिज्मको विकास गर्ने अभियानलाई यो प्रतियोगिताले सहयोगी भूमिका खेल्ने बताए । नेपालले सातौं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।