पोखरामा राष्ट्रिय भारोत्तोलन, जग्गा दिए अन्तराष्ट्रिय च्याम्पियनसिप गर्ने पुर्वाधार बनाउँछौ—अध्यक्ष टण्डन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७४ मा प्रकाशित


खेलाडी न्युज
पोखरा, २५ पुस-

नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनलाल टण्डनले पोखरामा अन्तराष्ट्रिय च्याम्पियनसिप गर्न आवश्यक पुर्वाधार निर्माणमा सहयोग गर्ने बताएका छन् । ३५ वर्षपछि पोखरामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता गर्ने बताउँदै अध्यक्ष टण्डनले पोखरा रंगशालाभित्र पुर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराई सहयोग गरिदिन आग्रह समेत गरेका छन् । जग्गा उपलब्ध भए आवश्यक पुर्वाधार निर्माणमा अघि बढ्ने समेत उनको भनाई थियो ।

‘पोखरालाई स्पोर्टस मात्रै होईन । स्पोर्टस टुरिज्म सिटीकोरुपमा विकास गर्ने लक्ष्य छ ।’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं अध्यक्ष टण्डनले भने—‘पुर्वाधार तयार पारेर भारोत्तोलनको एकेडेमी र फिटनेस सेन्टर बनाउने संघको चाहना हो ।’ बुधबारदेखि शुरु हुने राष्ट्रिय प्रतियोगिताको लागि २८ जिल्लाका खेलाडी सहभागि हुने उनले जानकारी दिए ।

१३ औं साग नेपालमा हुने भन्दै अध्यक्ष टण्डनले आगामी बैशाखमा अर्को राष्ट्रियस्तरको प्रतियोगिता गर्दै खेलाडी छनोट गरिने बताए । ओलम्पियन एवं नेपाली राष्ट्रिय खेलाडी कमलबहादुर अधिकारीसहित शीर्ष खेलाडीहरुको उपस्थिति हुने उनको भनाई थियो ।

२३ औं पुरुष तथा ८ औं महिला सस्करणको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २६ गतेदेखि पोखरा उद्योग वाणिज्य संघको सभाहल हुने छ । पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि पहिलो पटक भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता पोखरामा आयोजनाको अवसर जुरेको हो ।

प्रतियोगितामा पुरुष तर्फ नौं तौल समूहमा प्रतिस्पर्धा गराईने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । महिला तर्फ भने पनि ९ तौल समूहमा प्रतिस्पर्धा हुने छ । “ओलम्पिक स्टाईल वेटलिफ्टिङ”मा पुरुष तर्फ ५२ केजी, ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी तौल माथिको समूहमा प्रतिस्पर्धा गराईने छ । त्यसैगरी महिला तर्फ ४४, ४८, ६५३, ५८, ६३, ६९, ७५, ९०, र ९० माथिको तौल मसूहमा प्रतिस्पर्धा हुने भारोत्तोलन संघ कास्कीका अध्यक्ष राजनकुमार बडगामीले बताए । स्न्याच, क्लिन एण्ड जर्कमा प्रतिस्पर्धा गराईने छ । उनका अनुुसार स्न्याच, क्लिन र जर्क तीन वटै इभेण्टमा खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । तौल तीन पटक उठाउने मौका खेलाडीले पाउने छन् । प्रत्येक पटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिईन्छ ।

प्रतियोगितामा तीन विभागिय टोलीबाट ८ महिला र ८ पुरुष तथा विभिन्न २२ जिल्लाबाट ७५ पुरुष ४१ महिलासहित १८२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा १८ लाख १९ हजार खर्चहुने अनुमान गरिएको छ । दशलाख रुपैयाँ राखेपबाट उपलब्ध गराउने भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए ।