भारोत्तोलनका दिग्गज

- धन बस्नेत, पोखरा


     धन बस्नेत    
     पौष २८ गते २०७४ मा प्रकाशित


 कद खासै अग्लो होईन । तर शरीर भने निकै बलिष्ठ छ । त्यही बलिष्ठ शरीरले ४१ वर्षको उमेर नाघेपनि युवा जस्तो जोश छ । नियमित शारीरिक व्यायामले उनलाई फुर्तिलो बनाई राखेको छ । ४१ औं बसन्तमा आफुलाई जीवनरुपी पाईला अगाडि बढाईरहदा भारोत्तोलक कमल अधिकारी अझैं पनि युवा झैं भार उठाउन कस्सिन्छन् । उनको यो कस्याईले नै पोखरामा आफनो ७७ केजी तौलमा स्वर्ण पदक जित्दै करियरकै उत्कृष्ठ प्रदर्शन गरे ।

खेल्न थालेको पनि झण्डै दुई दशक वित्यो । दुई दशकमा नगण्य मात्रै पदकविहीन अवस्थामा छन् । तर अधिकांश राष्ट्रिय प्रतियोगितामा उनले स्वर्ण पदक नजितिकन फर्किएका छैनन् । पछिल्लो समय पोखरामा भारोत्तोलनमा स्वर्ण जित्दै करियरकै ३२ औं स्वर्णसंख्या पुर्याए । उनले अहिलेसम्मको प्रतिफलको श्रेय भने नेपाली सेनालाई दिन चाहन्छन् । ‘नेपाली सेनामा प्रवेश गरेपछि नै भारोत्तोलनको प्रशिक्षण लिने मौका पाए ।’ उनले आफनो विगत सम्झदै भने—‘सेनामा छिरेपछि नै सिक्दै जादाँ यो अवस्थासम्म आईपुगे । चितवन गीतानगरमा जन्मिएका अधिकारी २०५६ सालमा नेपाली सेनामा प्रवेश गरेका हुन् । भरतपुरकै पशुपतिप्रसाद गणमा पाईला टेकेपछि भारोत्तोलनको लत लाग्यो । त्यो लतलाई ९० जनाको टिमबाट छनोट हुदैं नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा प्रवेश गरायो । क्लबमा प्रवेशपछि उनको भारोत्तोलन खेलले नयाँ मोड लियो । प्रशिक्षणको तेस्रो दिनमै प्रशिक्षकको आखाँमा बसे । प्रशिक्षकले नै उनलाई नियमित प्रशिक्षण गराई २०५९ सालमा खेलाडीको रुपमा भारोत्तोलन प्रतिस्पर्धाको एरिनामा उत्रिए । काठमाडौंमा आयोजित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि अधिकारीले आफनो करियरलाई अझ मजबुत बनाउने ध्याउन्नमा लागे ।

उनले विरलै मात्रै बेष्ट लिफ्टरको उपाधिबाट विमुख हुन पुगे । उनको सम्झना छ—‘तीनपटक अरुले जिते । बाँकी सबै मैले नै बेष्ट लिफ्टरबाट पुरस्कृत हुदैं आँए ।’ उनको अन्तर्राष्ट्रिय करियर भने पाकिस्तानमा भएको नवौं साग गेम्समा सहभागिता मै सीमित भएपनि नयाँ अनुभव बटुले । दशौं साग श्रीलंकामा भयो । उनले स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय पदक देशको नाममा लेखाए । सिनियर एशियन कप र इन्टर क्लब च्याम्पियनसिपमा कुल ६ पदक(कास्य) जिते । जुन करियरको अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक थियो । १९ वर्षे खेल जीवनमा राष्ट्रिय प्रतियोगितामा केवल दुईवटा मात्रै रजत पदक लेखिएको छ । उनले राष्ट्रिय प्रतियोगितामा विभिन्न तौल समूहमा राष्ट्रिय किर्तिमान समेत छ । ६२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दा क्लिनमा १४० केजी भार उठाएको किर्तिमान छ । ६९ केजी तौलमा समग्रमा २७५ केजी तौलको किर्तिमानी पनि उनैको नाममा छ । ७७ केजी तौलमा भने उनको किर्तिमानी तौल २८४ केजी भार छ । ८५ केजीमा पनि उनले राष्ट्रिय किर्तिमान कायम गर्ने क्रममा २८५ केजी उठाएको तथ्यांक नेपाल भारोत्तोलन संघसित छ ।
सन २००६ मा ईरानमा उनले एक महिना भारोत्तोलनको प्रशिक्षण लिएका छन् । नेपालका अनुभवी भारोत्तोलन खेलाडीको सुचीमा अग्रस्थानमा रहेका अधिकारी भारतको पटियालामा पनि एकमहिनो प्रशिक्षण लिएका छन् । २०१० मा चीनको ग्वान्जाओमा पनि एकमहिना प्रशिक्षण लिदैं आफुलाई भारोत्तोलनमा खारिएका हुन् । सहायक प्रशिक्षकको लागि एनएस कोर्ष समेत गरिसकेका अधिकारीले नेपाली सेनामा प्रवेश गरेकै कारण अवसरहरु मिलेको स्वीकार्छन् । नियमित तीन घण्टा अभ्यासले नै अझसम्म भार उठाउन सकेको बताउँछन् र भन्छन—‘उमेरले नेटो काट्दै गएपनि जोश र उत्साह भने अझैं बाँकी छ ।’