फुटबल संघ कास्कीको अधिवेशन शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७४ मा प्रकाशित


पोखरा, माघ २ गते- कास्की जिल्ला फुटबल संघको सातौं अधिवेशन शुरु भएको छ । अधिवेशनको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला पुर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै फुटबल विकासको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । फुटबल संघको फुटबल गतिविधिमा देखिएको अनिश्चिततालाई चिर्दै अबको नयाँ कार्यसमितिले फुटबल विकासमा सक्रियता देखाउनुपर्ने धारणा राखे ।

‘जिल्ला भ्रमणमा जादाँ फुटबलको अवस्था बारे नसोध्नोस भन्ने गरेको छु ।’ उनले भने—‘यो स्थितिबाट पार लगाउन सुन्दर मन भएका व्यक्तित्वले नेतृत्व लिनुपर्छ ।’ मोफसलका फुटबल संघ मध्ये विगतमा उत्कृष्ठ रहेपनि पछिल्लो गतिविधिले संघको छवि धुमिल भएको भन्दै त्यसलाई मेटाउन नयाँ कार्यसमितिले जुझारु रुपमा काम गर्नुपर्ने बताए ।

अधिवेशन समारोहमा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुद भित्र जातीयवाद र राजनीतिवादले धरासायी बन्दै गएको भन्दै फुटबलमा यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । अधिवेशन सचिव शिव गुरुङ(माया) र कोषाध्यक्ष हिटलर घलेको कोषाध्यक्षको प्रतिवेदनलाई पास गरिएको थियो । कोषाध्यक्षको प्रतिवेदन अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्दा ७ लाख ४४ हजार रुपैयाँ ऋण देखिएको छ । संघमा २३ क्लब मध्ये १८ क्लबको मात्रै मताधिकार छ । एन्फाको विधान अनुसार अनुसार पछिल्लो दुई वर्ष लिग नखेलेका क्लबलाई मताधिकारबाट बन्चित गराईदिएको छ ।