एकदशकपछि पोखराको अर्मलामा पर्वतीय दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- एक दशकपछि अर्मलाकोटमा पर्वतीय दौड हुदैं छ । श्रीपञ्चमीको अवसरमा अर्मलाकोटमा आयोजना हुने मेलामा १० किलोमिटर पर्वतीय दौड हुने छ । स्थानीय दुर्गा युवा क्लबको आयोजनामा हुने दौड पोखराको विन्ध्यवासिनी मन्दिर परिसरबाट प्रारम्भ भई अर्मलाकोटमा पुगेर समापन हुने छ ।

यही माघ ५ गतेदेखि मेला सञ्चालन हुने छ । मेलाको अन्तिम दिन पर्वतीय दौड राखिएको दौड संयोजक जुमप्रसाद गुरुङले बताए । उनका अनुसार दौडसँगै कोटमा निर्माण गरिएको खेलकुद पुर्वाधारको समेत उदघाटन गरिने छ । स्थानीय स्रोत र नीजि लगानीमा झण्डै ५३ लाखको लागतमा पुर्वाधार गरिएको छ । चार वर्ष लगाएर बास्केटल कोर्ट, ११० फिट लम्बाईको तीन स्टेप सिमेण्टेड प्यारापिट, स्टेज तथा भलिबल कोर्ट निर्माण गरिएको उनले जानकारी दिए । पर्वतीय दौडको लागि बेलायतमा बस्ने अर्मलाकोटबासीले आर्थिक सहयोग जुटाएका छन् ।

निर्माण समितिका संयोजक समेत रहेका गुरुङले बेलायतबाट ५ सय पाउण्ड(६९ हजार) रुपैयाँ सहयोग आएको सुनाए । शेरा गुरुङ, बुद्धि गुरुङ, जीवन गुरुङ, सुनिल गुरुङ र सम्मर गुरुङले आर्थिक सहयोग जुटाएका हुन् । पर्वतीय दौडका विजेताले नगद १५ हजार रुपैयाँ पाउने छन् । दोस्रोले १० र तेस्रो हुने धावकले ५ हजार रुपैयाँ पाउने संयोजक गुरुङले बताए । उनका अनुसार सान्त्वनालाई समेत नगद ५ सय रुपैयाँ प्रदान गरिने छ ।