नेपाल पुलिस क्लब आहाको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा-नेपाल पुलिस क्लब आहा रारा गोल्डकप उपाधिको लागि रुस्लान थ्री स्टारसित भिड्ने पक्का गर्दा इतिहास कोर्ने सपना पुर्वेली टोली धरान फुटबल क्लबको सेमिफाईनलबाट टुंगिएको छ । पेनाल्टी गोल मार्फत पुलिसले १—० ले जित्दै फाईनल समीकरण पुरा गर्दा धरानको यात्रा सेमिफाईनलसम्मको लेखियो । २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै नेपाल पुलिस क्लबलाई फाईनल पु¥याउन पर्याप्त बन्यो । रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिईयो । पेनाल्टी दिएसँगै धरानले रेफ्रीको निर्णयलाई अस्वीकार गर्दै खेल मैदान बाहिर निस्कने तयारी ग¥यो । तर प्रशिक्षक अर्जुन राईले खेल्ने निर्देशन दिएपछि केहीमिनेटको अवरुद्धपछि पुन शुरु गरिएको थियो ।

धरानले पोखराको मैदानमा आफुलाई पुलिस भन्दा अब्बल देखाउन निकै मेहनत ग¥यो । यद्यपी गोल भने निस्किएन् । एकपछि अर्को मुभ बनाएको धराने प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले जोगाउँदै पुलिसलाई फाईनलको यात्रा तय गराउने भूमिका निर्वाह गरि रहे । खेलको ३५ औं मिनेटमा डिफेन्स समेत विट भईसकेको अवस्थामा पुलिसका गोलकिपरले क्लियर गर्न खोजेको बल धरानका निशान लिम्बुसँग रिफ्लेक्ट हुदैं पोष्ट नजिकैबाट बाहिरियो । कर्नरको अवसर पाएको धरानले सदुपयोग गर्न सकेन् ।

पोखराको मैदानमा धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको बिहीबारको भेट भने तेस्रो थियो । छैटौं र १२ औं सस्करणमा पुलिस क्लबसँग पराजित भएको धरान १६ औं सस्करणमा पराजित हुन पुग्यो । पोखरामा धरानले पुलिससित हारको श्रृखंलामा ह्याट्रिक ग¥यो । धरानले ९० मिनेटसम्मको खेलमा छ पटक कर्नर हान्ने अवसर पाएको थियो । २९ औं मिनेटमा बर्तमान राईले हानेको बललाई पुलिसका गोलकिपरले पन्च गर्दा धरानले कर्नरको अवसर पायो । ३१ औं मिनेटमा बर्तमान राईले हानेको कर्नर बललाई विष्णु सुनारको हेड आउट हुन पुग्यो । ४१ औं मनोज राईको लङ थ्रो बललाई बर्तमान राईले डिबक्सभित्रबाट हानेपनि डिफेन्सको खुट्टामा लागेर फर्किएको थियो । धरानले ५४ औं मिनेटमा डिबक्सको आर्क नजिकै पाएको फ्रिकिकलाई चुकायो । आठजना पुलिसका खेलाडी बार बसेका थिए । बर्तमान राईको प्रहार खेलाडी बार काट्न सकेन् ।

पुलिसले भने ११ औं मिनेटमा अभिषेक रिजालको प्रहार पन्च सेभ भएको थियो । ३५ यार्ड टाढाबाट प्रहार बल सिधै पोष्टको दिशातर्फ गएको थियो । तर गोलकिपरले बचाउ गर्दै धरानमाथिको दवावलाई मत्थर बनाए । ७५ औं मिनेटमा पुलिसको अर्को मुभ बन्यो । सुमन लामाले गोलकिपर अगाडि बढेको अवस्थामा हानेको लङ बललाई गोलकिपर पछाडि सर्दै समाते । ७८ औं मिनेटमा सुशान लामाले हानेको बललाई पनि गोलकिपरले पन्च गरे । डिफेन्सले त्यसलाई क्लियर गर्दै धरानको अन्तर बढ्ने जोखिम न्युनिकरण गरे । ८५ औं मिनेटमा भोला सिलवालले डिबक्सभित्र उपलब्ध गराईदिएको सटपासलाई तेज तामाङले गरेको प्रहार पनि गुम्यो । खेलमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीलाई म्यान अफ दि म्याचबाट सम्मानित भए ।