९ होलका दुई गल्फ कोर्ष बन्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— प्रदेश नं ४ मा तीन वटा गल्फकोर्ष छन् । ती मध्ये दुई बन्द छन् । बन्द भएका गल्फ कोर्ष केवल ९ होलका मात्रै थिए । एउटा भने १८ होलको छ हिमालयन गल्फ कोर्ष । पोखराको छिनेडाडाँस्थित गोर्खाभिलेज रिर्सोटसँगै रहेको गल्फ कोर्ष विश्वकै उत्कृष्ठ मध्ये पर्छ । बाँकी दुई गल्फ कोर्ष भने एउटा एशियाकै उत्कृष्ठ मध्येको एक होटल फुलबारीमा छ । अर्को भने खैरेनीस्थित नेपाली सेनाको ३ नं बाहिनीभित्र छ । बाहिनी भित्रको र होटल फुलबारीभित्रको ९ होलको गल्फ कोर्ष बन्द छन् ।

होटल फुलबारी भित्रको निर्मित गल्फ कोर्ष व्यवसायिक प्रयोजनको लागि होईन् । यद्यपी प्रतियोगिता सञ्चालन गर्न भने सकिन्छ । होटलमा आउने विशिष्ट पाहुनाको लागि निर्माण गरिएको थियो । उता खैरेनीको नेपाली सेनाको बाहिनी भित्रको पनि केवल सेनाका अधिकृतको खेल्नको लागि बनाईएको थियो । बाहिनीभित्र चार वर्ष अघि निर्माण गरिएको कोर्ष अहिले नियमित मर्मत सम्भारको अभावले पूर्ण रुपमा बन्द छ । ‘गल्फ कोर्ष छ । तर पूर्ण रुपमा बन्द छ । मर्मत सम्भार नै गरिएको छैन् ।’ बाहिनीका सेनानी गेहेन्द्र गुरुङले भने—‘मर्मत सम्भार गरियो भने खेल्न योग्य हुन्छ ।’ उनको अनुसार ग्रिन मर्मत नगरिएको पनि तीन वर्ष बढी भईसक्यो । बाहिनीमा पोखराकै हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले निर्माण गरेका थिए । बाहिनीकै जवानको श्रम सहयोगमा ९ होलको गल्फकोर्ष बनाईएको थियो । हिमालयन गल्फ कोर्षमा भने नियमित रुपमा प्रतिस्पर्धा हुदैं आएको छ । वर्षेनी व्यवसायिक प्रतिस्पर्धामा हुने गरेको छ । यो वर्ष पनि १८ औं सस्करणको सुर्य नेपाल वेष्र्टन ओपनको तयारी गरिएको उनको भनाई थियो । उनका अनुसार अन्तराष्ट्रियस्तरको ९ होलको कोर्ष बनाउन झण्डै पाँच करोड रुपैयाँ खर्च हुने छ । त्यसको लागि ६ सय रोपनी जग्गा चाहिन्छ ।