नीराजनको ह्याट्रिक, बुढासुब्बामा रुस्लान थ्री स्टार सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


धरान(खेलाडी न्युज) – पोखराको आहा रारा गोल्डकपको फाईनलमा स्कोर निकाल्न नसकेका नीराजन खड्काको ह्याट्रिक गर्दै २० औं बुढासुब्बा रेडबुल गोल्डकपको रुस्लान थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिस्पर्धामा सुदुर पश्चिम ११ स्पोर्टिङलाई ४—० गोलले पराजित गर्दै सेमिफाईनल सुरक्षित ग¥यो । एक गोल भने सुनिल बलको नाममा रह्यो । अब फाइनल प्रवेशका लागि बिहीबार थ्री स्टारले भारत कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्नेछ । दुर्गापुर आयोजक धरानलाई सडन डेथमा हराउँदै अघि बढेको थियो । अर्को सेमिफाइनल नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटाबीच हुनेछ ।
सातौ मिनेटमा नीराजनको गोलबाट अग्रता लिएको थ्री स्टारका लागि सुनिलले ३७ औं मिनेटमा गोल गरेका थिए । ५४ औं मिनेटमा अर्को गोल गरेका नीराजनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । रजिन धिमालको क्रसमा नीराजनले दोस्रो गोल गरेका थिए । ह्याट्रिक गोल भने उनले पेनाल्टीबाट सम्भव बनाए । पेनाल्टी बक्समा सुदूरपश्चिमका खेलाडीले बल ह्यान्ड गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने नीराजन पहिलो खेलाडी समेत बनेका छन् । म्यान अफ दी म्याच नीराजनले १० हजार रुपैयाँ प्राप्त गरे । बुढासुब्बाको विजेताले उपाधिसहित ६ लाीख रुपैयाँ प्राप्त गर्नेछ । फाइनल शनिबार हुनेछ । फोटो- हाम्रो खेलकुद डटकमबाट