कप्तान विधानको अर्धशतकमा अरण्यज्योति सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) पोखरा क्रिकेट एकेडेमीलाई चार विकेटले पराजित गर्दै अरण्यज्योति पोखरामा सञ्चालित दि युनाईटेड गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरा क्रिकेट क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो दिन बुधबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट एकेडेमीले ११७ रन बनायो । सन्तोष न्यौपानेले ५१ बलमा उत्कृष्ठ इनिङ खेल्दै ७० रन जोडेपछि एकेडेमी सम्मानजनक स्कोर बनायो । विष्णु कुँवरले पनि नौ बलमा १६ रनको योगदान दिए । सन्तोष शर्माको बलमा ईशान्त शर्मा भने पहिलो बलमै डक आउट हुन पुगे । अरण्यज्योतिका बलर प्रज्वल दाहाल दुई विकेट लिन २४ रन खर्चिए । अब्दुल खालिकले पनि एक विकेट लिनको लागि चार ओभर फालेर ११ रन दिए । कप्तान विधान श्रेष्ठ ८ रनदिदैं १ ओभरमा एक विकेट लिन सफल भए ।

११८ रनको लक्ष्य पछ्याएको अरण्यज्योतिले एक बल बाँकी छदाँ पुरा ग¥यो । कप्तान विधान श्रेष्ठले ५० बलमा ६२ रन बनाएपछि जितको आधार तयार भएको थियो । छ विकेटको क्षतिमा लक्ष्य पुरा गर्ने क्रममा अरुण महत ४० बल खेलेर २५ रन बनाई विकेट जोगाउन उद्दत देखिएका थिए । सन्नी क्षत्री ४ रन ३ बल खेल्दै नटआउट रहे । म्यान अफ दि म्याच विधान श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग उपनिर्देशक बलराम क्षत्रीले पुरस्कार प्रदान गरेका थिए । पोखरा एकेडेमीका लागि अरुण बुढाथोकी २ विकेट, विजय राउत र सुबास १—१ विकेट लिए ।