पोखरा क्रिकेट क्लब दि युनाईटेड गोल्डमार्ट टी—२० को फाईनलमा प्रवेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—मध्यम स्कोर पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई केवल ६० रनमै अलआउट गर्दै पोखरा क्रिकेट क्लब दि युनाईटेड गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा ५५ रनको जित निकाल्दै पोखरा क्रिकेट क्लब उपाधि निकट पुगेको हो ।

११६ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब भने सस्तैमा आउट हुन पुग्यो । अधिकांश व्याट्सम्यान बीच आपसी समन्वय नहुदाँ रनआउटको शिकार भए । पहिलो ओभरमा सात रन जोडेको सांग्रिलाले तेस्रो ओभरमा पनि सातै रनमा सीमित हुदाँ तीन विकेट गुमाउन पुग्यो । दिपेश श्रेष्ठको तेस्रो ओभरमा सुदिप पौडेल र अरुण अधिकारी रन आउटको शिकार भए । सुदिप पौडेलले एक बल पनि खेलेनन् । नन स्ट्राईकमा रहेको उनी स्ट्राइकमा नपुग्दै रन आउट हुदाँ निकै असन्तुष्टी देखिए । दोस्रो ओभरमा किशोर महतोले विकेट लिए ।

किरण क्षत्रीले १८ बलमा केवल १५ रन बनाए । जुन सांग्रिलाको लागि सर्वाधिक रन थियो । विपिन खत्रीले ११ बलमा १२ रन र राजु खनालले ११ बलमा सात रन जोडे । विपिन चन्द्रकुमार गुरुङको बलमा क्याच आउट हुन पुगे । पहिलो ओभर बलिङ गर्ने क्रममा गुरुङको पहिलो बलमै विपिनले छक्का हिर्काए । दोस्रो बलमा पनि छक्का हान्ने क्रममा लङअनमा कप्तान अनिल गुरुङको हातबाट क्याच आउट भए । अन्तिम व्याट्सम्यानको रुपमा क्रिजमा छिरेका राजु तामाङलाई गुरुङले पाँचौ बलमा एलबी डब्लुको शिकार बनाए ।

टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लबले रिजन प्रजुले उत्कृष्ठ व्याटिङ गर्दै ४४ बलमा ४२ रनको महत्वपूर्ण योगदानमा ११५ रनको स्कोर तयार पा¥यो । म्यान अफ दि म्याच प्रदीप राउतले आफनो इनिङमा १५ रन बनाउँदा चार ओभर बलिङ गर्दै १३ रन खर्चिर तीन विकेट लिएका थिए । किशोर महतोले ८ बलमा विष्फोटक व्याटिङ गर्दै १४ रन हिर्काएका थिए । सांग्रिलाका बलर समीर सेनले चार ओभरमा २६ रन दिदैं ३ विकेट लिए । उनले रिजन प्रजु, चन्द्रकुमार गुरुङको विकेट लिएका थिए । विपिन खत्रीले दुई विकेट लिए । अन्तिम ओभरमा एक विकेट र उनकै बलिङमा दुई व्याट्सम्यान रनआउट भए । सन्दीप पौडेल भने चार ओभरमा १३ रन दिएर केवल १ विकेट लिए । म्यान अफ दि म्याच राउतलाई खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष केशव पाठकले पुरस्कार प्रदान गरेका थिए ।