आउँदो फागुन अन्तिम साता प्रादेशीक भलिबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—आउँदो फागुन २५—२७ सम्म पोखरामा नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) कप महिला तथा पुरुष प्रादेशीकस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । माघ ३० देखि फागुन १२ गतेसम्म ७७ जिल्लामा प्रतियोगिता गरी खेलाडी छनोट भईसक्नुपर्ने प्रावधान छ । उक्त प्रतियोगितामा गाँउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका बीच प्रतिस्पर्धा गराई जिल्ला छनोट गर्नुपर्ने छ । छनोटको लागि जिल्ला उद्योग वाणिज्य संघसँग समन्वय गर्नुुपर्ने छ ।

प्रदेशस्तरीय छनोट भने फागुन १२ गतेदेखि चैत ७ गतेसम्म गरिसक्नुपर्ने छ । सातै प्रदेशमा छनोट प्रतियोगितापछि काठमाडौंमा आगामी चैत २० गतेदेखि २८ गतेसम्म राष्ट्रिय प्रतियोगिता हुने छ । जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघ, क्षेत्रीय भलिबल संघ तथा क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गर्ने छन् ।

चैत २० देखि २८ गते काठमाडौंमा हुने प्रथम एफएनसिसीआई महिला तथा पुरुष विजेता भलिबल टिमलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने छ । उपविजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख रुपैयाँ र तेस्रो हुने दुवै टोलीलाई नगद ५० हजार प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार प्रदान गरिने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए । विधागत खेलाडीहरुलाई नगद ५÷५ हजार रुपैयाँ नगदबाट सम्मान गरिने छ । नेपाल भलिबलको इतिहासमा उद्योग वाणिज्य महासंघसँग भएको सम्झौता नै सबैभन्दा ठूलो हो । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि नेपाल भलिबल संघ र उद्योग वाणिज्य महासंघ बीच एक करोड २० लाख बराबरको सहयोग गर्ने सम्झौता भएको छ । भिलेज टु ग्लोबल भन्ने नारासहित आयोजित प्रतियोगितामा विभागीय टोलीको खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । साथै वडास्तरबाट नै खेलाडी छनोट गरिने भएकोले निश्चित रुपमा यस प्रतियोगिताबाट प्रतिभाशाली खेलाडी छनोट हुने विश्वास गरिएको छ । -फोटो फाईल