‘सफल पोखरा म्याराथन’ सोमबार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—पर्सी फागुन ७ गते पोखरामा १२ औं सस्करणको सफल पोखरा म्याराथन हुदैै छ । दुईदिनपछि हुने म्याराथनको लागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भईसकेको छ । म्याराथनमा पोखरासँगै बाग्लुङ पर्वत, स्याङजा, तनहुँ गोर्खा लम्जुङ तथा रुकुमबाट समेत खेलाडीको सहभागिता रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । भुतपुर्व खेलाडी मन्चको आयोजना हुने म्याराथनमा विभागीय खेलाडीले बर्चस्व राख्दै आएका छन् । यो वर्षको म्याराथनमा समेत विभागीय खेलाडीको बाहुल्यता रहने विश्वास छ ।

प्रजातन्त्र दिवसको दिन आयोजित म्याराथनमा २५ जनाले सहभागिता जनाउने संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । १० किलोमिटर महिला तर्फको प्रतिस्पर्धामा २५, पुरुष तर्फको १० किलोमिटरमा ७५ जनाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी ५ किलोमिटर दौड छात्र तर्फ १ सय ८० जना र ५ किलोमिटर छात्रा तर्फ १ सय जनाले सहभागिता जनाउने छन् । ४ सय मिटर ह्वीलचियर, १ मिटर महिला ह्वीलचियर तथा १ मिटर दृष्टिविहीन दौड समेत समावेश गरिएकोछ ।

सफल दुधको मुख्य प्रायोजन, पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग, एडभेन्चर स्पोर्टस नेपाल प्रालि, गण्डकी विकास बैंक लिमिटेड सह प्रायोजक, लुम्बिनी विकास बैंक र सहारा युके उप प्रायोजकमा रहेका छन् । प्रतियोगितामा म्याराथन तर्फको विजेताले ७० हजार नगद, उपविजेताले ४५ हजार, तेस्रो स्थानमा आईपुग्ने धावकले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसस्तै चौथो स्थानको धावकले पनि ५ हजार नगद पुरस्कार थाप्ने छन् । १० किलोमिटर पुरुष दौड विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ । ५ किलोमिटर छात्रा तथा छात्र दौडमा प्रथम हुनेले १०, द्धितीय हुनेले ७ र तेस्रो हुनेले ४ हजार नगद पुरस्कार पाउने छन् । ४ सय मिटर ह्वील चियर पुरुष प्रतिस्पर्धामा ५, ३ , २ हजार नगद पुरस्कार पाउने छन् । महिला ह्वीलचियर प्रतिस्पर्धीलाई पनि ५,३, २ हजार नगद र १ सय मिटर दृष्टिविहीन दौडलाई पनि सोही अनुपातको पुरस्कार प्रदान गरिने छ । पत्रकार सम्मेलनमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले पोखराको म्याराथनलाई सहयोग गर्दै अझ व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरे । म्याराथन पोखरा रंगशालाबाट शुरु भई महानगरपालिकाको बजार परिक्रमा गरी पोखरा रंगशालामा आएर टुंगिने छ ।