एक्सपर्ट स्कुलस्तरीय क्रिकेट प्रतियोगिता जितेको सत्यवतीको कलेज लिगमा विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) विमल सुनारले चार ओभरमा ४ विकेट लिएपछि ११४ रनको लक्ष्य पछ्याएको न्यु ग्यालेक्सी ९४ रनमै समेटियो । विनय भणडरीले पनि तीन विकेट लिएपछि न्यु ग्यालेक्सीको व्याट्सम्यान भने सस्तैमा पवेलियन फर्किएपछि सत्यवतीले न्यु ग्यालेक्सीमाथि १९ रनको जित दर्ता गर्यो । गत वर्ष एक्सपर्ट विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको विजेता समेत रहेको सत्यवतीले टस जित्दै पोखरा रंगशालाको क्रिकेट मैदानमा ११३ रन बनायो । रुपक बरालले ३९ बलमा ४ चौकासहित ४० रन हिर्काएपछि सत्यवतीले सम्मानजनक स्कोरको लक्ष्य न्यु ग्यालेक्सीलाई प्रस्तुत गर्यो । मिलन थापा मगरले १४ र विनय भण्डारीले १३ रनको योगदान दिए । पेप गुरुङ(न्युु ग्यालेक्सी)ले चार ओभरमा २१ रन दिएर ३ विकेट लिए । सन्देश छन्त्याल, अभिषेक सिंह ठकुरी, अनिष जिसी र राजु थापाले पनि एक एक विकेट लिए ।

११४ रनको लक्ष्य पछ्याएको न्यु ग्यालेक्सी ९४ रनमा अलआउट हुन पुग्यो । विजय विकले २२ रनको योगदान दिए । सुगम गौतम र पेप गुरुङले १०—१० रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् । न्यु ग्यालेक्सीको स्कोर बोर्डमा ३१ रन अतिरिक्त जोडियो । जुन व्याट्स म्यानको व्याटबाट निस्किएको भन्दा बढी रन थियो । खेलको म्यान अफ दि म्याच घोषित विमल सुनारलाई कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले म्यान अफ दि म्याचको पदक प्रदान गरे ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गण्डकी बोर्डिङ स्कुल लामाचौर र अमरसिंह नमूना उच्चमाविको खेल भएपनि अन्तिम समयमा आएर गण्डकीले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरेपछि बुधबार एक खेल मात्रै खेलाईएको थियो । गण्डकीलाई प्रतियोगिताबाटै हटाईएको र आगामी दिनमा आयोजना गरिने क्रिकेट प्रतियोगितामा समेत सहभागिता नगराउने निर्णय प्रतियोगिताका संयोजक विधान श्रेष्ठले बताए । बिहीबारको पहिलो खेल सत्यवतीले पोखरा विश्वविद्यालयसँग खेल्ने छ भने दोस्रो खेल पृथ्वीनारायाण बहुमुखी क्याम्पसले स्याङजा बहुमुखी क्याम्पससँग खेल्ने छ ।