थ्री स्टारलाई पेनाल्टीको दुर्भाग्य, झापा फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २५ गते २०७४ मा प्रकाशित


विर्तामोड(खेलाडी न्युज)—रुस्लान थ्री स्टारलाई टाइब्रेकरमा पराजित गर्दै झापा ११ ले विर्तामोडमा आयोजित झापा गोल्डकपको फाईनल सुरक्षित गरेको छ । अब उपाधिको लागि झापाले मनाङ मस्र्याङ्दी र नेपाल आर्मी बीचको विजेतासँग खेल्ने छ ।

गोलरहित बराबरीमा निर्धारित समय टुंगिएपछि पेनाल्टी सुटआउटमा ४—३ गोलले पन्छाउँदै झापाले घरेलु मैदानमा उपाधि जोगाउने लक्षण देखाएको हो । सुनिल बल र बुद्ध चेम्जोङको पेनाल्टी बाहिरिएपछि थ्री स्टारले मोसफलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप उचाल्ने सपना तुषारापात हुन पुग्यो । रन्जित धिमाल, विजय धिमाल र निराजन खड्काको पेनाल्टी गोलमा परिणत भएको थियो । झापाका लागि कर्ण लिम्बु, भुषणा सुब्बा, कप्तान योगेश गुरुङ र देबेन्द्र तामाङले गोल गर्दै झापालाई मोफसलमा उत्कृष्ठ टिमवर्कको संकेत देखाए ।

खेलमा थ्री स्टारका अजय मार्टिनको प्रहार ११ औं मिनेटमा क्रसबारमा लागेर बाहिरिनु नै दुर्भाग्यको संकेत प्रष्टिएको थियो । ३० औं मिनेटमा झापाका लागि विशाल राईले पनि थ्री स्टारको पोष्टमा प्रहार गरे । जसलाई गोलकिपरले बचाउ गर्दै गोलरहितको अवस्थामा राखीराखे । खेलमा झापाका डिफेन्स देबेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए । शनिबारको दोस्रो सेमिफाईनल खेल आर्मीले मनाङ मस्र्याङ्दीसँग खेल्ने छ ।